![](https://sajhamanch.com/wp-content/uploads/2024/01/Hattipaile-Gosti-at-bhadrapur.jpg)
भद्रपुर । झापामा उपेक्षामा परेका उष्ण प्रादेशिक रोगका कारण मानिसमा नकारात्मक प्रभाव परिरहेको पाइएको छ । १० प्रकारका उपेक्षामा परेका उष्ण प्रादेशिक रोगको प्रभाव रहेको झापामा हात्तीपाइले र कुष्ठरोग प्रमुख समस्या भएर समाजमा नकारात्मक प्रभाव परिरहेको पाइएको हो ।
भद्रपुरमा आयोजित सरोकारवालासँगको छलफलमा जानकारी गराइए अनुसार कोशी प्रदेशमा हात्तीपाइलेको संक्रमण दर नियन्त्रण हुन नसकेको जिल्लामा झापा पहिलो नम्वरमा छ । तीव्र गतिमा संक्रमित हुने कुष्ठरोगको प्रभाव रहेको जिल्लामा पनि झापा कोशी प्रदेशमा पहिलो नम्वरमा रहेको देखिएको छ ।
१२ वर्षयता निरन्तर औषधि खुवाउने काम भइरहेको झापा जिल्लामा हात्तीपाइले र कुष्ठरोग निवारण हुन नसक्नुमा व्यक्ति, समुदाय, राज्य तथा नियामक निकायको उपेक्षा प्रमुख कारण रहेको अध्ययनले देखाएको दावी गरिएको छ ।
झापामा अहिले पनि २४ प्रतिशत नागरिक हात्तीपाइले रोगको संक्रमण बोकेर हिडिरहेको जनस्वास्थ्य कार्यालयको विवरणले देखाउँछ । झापाको अर्जुधारा, भद्रपुर र कनकाई नगरपालिकामा अधिक हात्तीपाइलेका रोगी रहेको पाइएको छ । १२ वर्षयता हात्ती पाइले निवारणका लागि अभियान चलिरहे पनि स्थानीय सरकार तथा मातहतका कर्मचारीले सही रूपमा समन्वय गरेर काम गर्न नसक्दा हात्तीपाइले निवारणको सूचकमा असफल भएको देखिएको छ ।
झापाको सदरमुकाम भद्रपुर नगरपालिकामा हात्तीपाइले निवारमा ५३ प्रतिशत मात्र उपलब्धी प्राप्त भएको देखिन्छ भने सूचक पार गर्न ८० प्रतिशत उपलब्धी हुनुपर्ने जनाइएको छ ।
कार्यक्रममा यसवर्ष हात्तीपाइले निवारणका लागि सवै पक्षसित समन्वय गरी तोकिएको सूचक पार गर्ने प्रतिवद्धता जनाउँदै भद्रपुर नगर प्रमुख गणेश पोखरेलले आफूले पदभार ग्रहण गर्नुपूर्व ३५ प्रतिशत मात्र उपलब्धी रहेकोले अहोरात्र खटिदा ५३ प्रतिशतमा पुग्न सकेको दावी पनि गरे ।
यस्तै शिवसतासी नगर प्रमुख मेघाहाङ थोप्राले आफूले सोचेअनुसार कर्मचारीले काम गर्न नसक्दा ७१ प्रतिशत मात्र उपलब्धी भएको जानकारी दिँदै शतप्रतिशत उपलब्धी प्राप्त गर्न यसवर्ष कर्मचारी फेरेर भए पनि काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले हात्तीपाइले लगायत उपेक्षामा परेका उष्ण प्रादेशिक रोगको संक्रमण उल्मुलनका लागि सबै पालिकासित समन्वय गरेर नयाँ रणनीति तय गर्ने जानकारी दिइन् ।
कार्यक्रमको सहजीकरण गर्दै जनस्वास्थ्यकर्मी कैलास खाकी श्रेष्ठले सन् २०२३ मा झापामा ७७ दशमलव ५ प्रतिशत व्यक्तिले हात्तीपाइले विरूद्धको औषधी निलेको तथ्यगत विवरण भए पनि उन्मुलनको सूचक पार गर्न नसकेको भन्दै यसवर्ष सूचक पार गरेर कोशी प्रदेशलाई हात्तीपाइले रोग मुक्त प्रदेश बनाउन सबै सरोकारवाला निकायलाई अनुरोध गरे ।
भद्रपुरका नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न सरोकारवालासितको छलफलले हात्तीपाइले उन्मुलनका लागि एकजुट भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।