२०८१ माघ १३, आइतवार , ०५:३०:०७ बजे

Sajhamanch
'

बुद्धशान्तिका सबै वडामा ज्येष्ठ नागरिक चौतारी निर्माण सम्पन्न

सोमवार, माघ १५, २०८०

बुद्धशान्ति । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को सहयोगमा झापाको बुद्धशान्ति गाउँपालिकाका ७ बटै वडामा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएका छन् ।

सोमबार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ मा निर्माण गरिएको ज्येष्ठ नागरिक चौतारीको उद्घाटनको अवसरमा आयोजित समारोहमा दिइएको जानकारी अनुसार बुद्धशान्तिका सबै वडामा चौतारी भवन सञ्चालनमा आएका हुन् ।

सो भवनको गाउँपालिका अध्यक्ष मनोज प्रसाईले उद्घाटन गर्दै बुद्धशान्ति गाउँपालिका ज्येष्ठ नागरिक मैत्री पालिकाको बाटोमा अगाडि बढेको जिकिर गरेका थिए ।

झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको र सदस्य संख्याका आधारमा देशकै सबैभन्दा ठूलो संस्था सहारा नेपाल साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत हालसम्म यस प्रकारका २५ वटा ज्येष्ठ नागरिक चौतारी निर्माण पूरा भएका छन् । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सो कार्यक्रम अन्तरगत चालू वर्ष थप ३ वटा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण गरिने योजना रहेको छ ।

समाजमा ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारमा परिवर्तन गरेर उनीहरुको सहज जीवन यापनका लागि सजिलो बनाउन यस्ता चौतारी उपयोगी सावित भएको सहारा नेपाल साकोसका संचालक समिति सदस्य भोला धितालले बताए ।

उनका अनुसार ती भवन निर्माणका लागि संस्थाले ७ लाख रुपैयाँ र भौतिक सामग्री उपलब्ध गराउने गरेको छ । त्यस्ता भवन बनाउन गाउँपालिका वा नगर पालिकाले १० लाख रुपैयाँ छुट्याउने र जग्गाको व्यवस्था स्थानीयरुपमै गर्नुपर्ने नियम छ ।

पूर्वको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथर जिल्ला कार्यक्षेत्र रहेको सहारा नेपाल साकोसले ज्येष्ठ नागरिकहरुको खुशीका लागि यो काम अगाडि बढाएको संस्थाका ज्येष्ठ नागरिक उपसमिति संयोजक रामप्रसाद रोक्काले बताए ।

उनका अनुसार संस्थाले यस्ता चौतारी भवनलाई बहुउपयोगी बनाउने र लर्निंङ सेन्टरको रुपमा विकसित गर्ने तथा ज्येष्ठ नागरिकहरुलाई समय कटाउने ठाउँ मात्र नभई आय आर्जनका लागि पनि उपयोग गर्ने तयारी भइरहेको छ ।

संस्थाका कार्यकारी प्रमुख गिरीको भनाइमा यस्ता ज्येष्ठ नागरिक भवनहरुलाई आ–आफ्ना उत्पादनहरुको बिक्री गरेर आम्दानी गर्ने थलोको रुपमा विकसित गर्ने, त्यसका लागि स्थानीय तह र समुदायसँग छलफल भइरहेको छ ।

अहिलेसम्म त्यस्ता चौतारी भवनमा ज्येष्ठ नागरिकहरु समय कटाउन र आराम गर्न आउने गरेका छन् भने इन्टरनेटको माध्यमबाट देश विदेशमा रहेका आफन्तहरुसँग कुराकानी गर्ने गरेका छन् । साथै गाउँघरमा हुने कतिपय कार्यक्रम ती भवनमा हुने गरेको जनाइएको छ ।