२०८१ पौष ५, शुक्रवार , ०९:००:५१ बजे

Sajhamanch
'

चलचित्र ‘नमेटिने घाउ’मा केपी ओलीले अभिनय गर्ने

सोमवार, माघ १५, २०८०

काठमाडौं । एसिड आक्रमणबाट पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ ।

चलचित्रको शुभमुहूर्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाही, ऐमाले सांसद सुनिता बराल कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत कमेडियन हिमेश पन्त उपस्थित थिए ।

मुहूर्तको उक्त अवसरमा पहिलो दृश्यको निर्देशन ओलीले गरे । ओलीले एक्सनभन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरू उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र बस्नेतले नरिवल फुटाएका थिए । ‘नमेटिने घाउ’मार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् ।

अभिनेता रमित ढुंगानाले बायोपिक फिल्मका रूपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गरेका हुन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्दैछन् ।

चलचित्रलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाउन लागिएको हो । चलचित्रको कथा शिवम् अधिकारीले लेखेका छन् ।

सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहारका रूपमा रहने सिनेमाको मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार रहनेछन् । निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिदै छन् ।

चलचित्रमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहालगायत कलाकार हरनेछन् ।

कार्यक्रममा अध्यक्ष ओलीले एसिड आक्रमणजस्ता घटना घटिरहेको भन्दै यसको अन्त्य हुनुपर्ने बताए ।

“यो एउटा अभियान र प्रभावकारी अंग हो । मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन् । मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन । एसिड आक्रमणले एकजनालाई मात्र पीडा दिएको हुँदैन,” ओलीले भने ।

सम्बन्धित खबर