२०८१ पौष २८, आइतवार , ०७:३३:०५ बजे

Sajhamanch
'

थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले उपभोग्य बस्तुहरुको संख्या थप गर्ने

आइतवार, माघ १४, २०८०

दमक । प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज झापाको दमकमा सम्पन्न भएको छ ।

कोशी प्रदेश सभाका समामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संघका अध्यक्ष महेन्द्रकुमार गिरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अकरिलो परिस्थितिमा स्थापना गरिएको उपभोक्ता विशिष्टीकृत सहकारी संघमा हालसम्म ४५ वटामात्र संस्थाहरु सदस्य बनेका र एक करोड ४४ लाख शेयर पुँजी जम्मा भएको उनले बताए ।

चालू आर्थिक वर्षमा सदस्य संख्या ७० बनाउने र शेयर पुँजी दुई करोड रुपैयाँ पुर्याउने अध्यक्ष गिरीले प्रस्ताव गरे ।

समीक्षा वर्षमा संघले ८ लाख १५ हजारमात्र खुद नाफा गर्न सकेकोले २ प्रतिशत शेयर बोनस र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने उनको प्रस्ताव थियो ।

संघले अहिले सिटिसी चिया, मह र तोरीको तेल उत्पदन गरी बिक्री गरिरहेको छ भने चालू वर्षदेखि बेसार, कफी र सुदोनून थप गरी प्याकेजिङ्ग र बजारीकरण गर्ने अध्यक्ष गिरीले कार्ययोजना सुनाए ।

साधारणसभा समारोहमा मन्तब्य राख्दै प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सहकारी संस्था संकटमा पर्नुका मुलतः तीनवटा कारणहरु रहेको आफ्नो ठम्याई रहेको सुनाए ।

सभामुख विष्टका अनुसार कतिपय सहकारी सञ्चालकहरुको नियत खराब भएको, कतिको नियत सही छ भए पनि सहकारी सम्बन्धीको ज्ञानको अभावका कारण संस्थाहरु धारासायी बन्दै गएका छन् भने कुनैमा कुनै कोणबाट राजनीति पनि पस्ने गरेका संस्थाहरु संकटमा छन् ।

सांसदका रुपमा आफूले पहिले पनि मुख्यमन्त्रीलाई सहकारी सम्बन्धी ऐन नियम संशोधन वा परिमार्जन गर्नुपूर्व सहकारी अभियन्ताहरुसँग घनिभूत छलफल गरिनुपर्ने प्रस्ताव गरिसकेको सुनाउँदै उनले अब सभामुखका नाताले पनि विधेयक बनाउनुपूर्व अभियन्तासँग छलफल गर्न स्मरण गराउने आश्वासन पनि दिए ।

साधारणसभा समारोहमा कोशी प्रदेश सभाका सदस्य होमबहादुर थापाले विगतको सहकारी सञ्चालन शैली र आजको शैलीमा व्यापक रुपान्तरण भएको बताए । पहिले एउटा संस्थाको बारेमा अर्कोले थाहा नपाओस् भन्ने गरिन्थ्यो अहिले खुला छलफल र बहस भइरहेको छ ।

यस्तो समयमा विशिष्टीकृत संघको जन्म र सञ्चालन हुनुले सहकारी संस्थाहरु मिलेर व्यवसायिकरुपमा अघि बढ्नुपर्ने बेला आएको उनले सुझाव दिए ।

विशिष्टिकृत सहकारी संघमार्फत धेरै कार्यक्रमहरु गर्न सकिने ऐनमा उल्लेख छ भन्दै थापाले संघले उत्पादन एवम् बजारीकरण गरेका वस्तुहरु मानव स्वास्थ्य प्रतिकूल हुने किसिमका हुन नहुनेमा सजग गराए । आफू ऐन नियम बनाउने जिम्मेवारीमा रहुन्जेल सहकारीको पक्षमा आवाज उठाइरहने थापाको प्रतिवद्धता थियो ।

सो कार्यक्रममा कृषि केन्द्रीय सहकारी संघका उपाध्यक्ष मिना ढकाल, झापा जिल्ला सहकारी संघ लेखा सुपरीवेक्षण समितिका सैयोजक चूडामणि ओझा, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, सिएमसी झापाका अध्यक्ष खोमप्रसाद बगाले, सहकारी बैंकका शाखा प्रमुख विवेक डाँगीले मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका सचिव प्रेम सापकोटाले सञ्चालन गरेका थिए भने उपाध्यक्ष टिकदत्त वनले साधारणसभा समारोहमा उपस्थित अतिथि र सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर