२०८२ जेठ ६, सोमवार , १२:५९:१६ बजे

Sajhamanch
'

नेपाली कांग्रेस झापा : माघ १६ जिल्लाका १० स्थानमा शहीद दिवससँगै समुदायमा कांग्रेस अभियानको शुभारम्भ गरिने

आइतवार, माघ १४, २०८०

बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न विस्तारित बैठकले शहीद दिवसको अवसर पारेर यही माघ १६ गते नेपाली कांग्रेसका अग्रज नेता, प्रजातान्त्रिक योद्धा र शहीदहरुको सम्झना र सम्मानमा विभिन्न १० स्थानमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र केन्द्रीय प्रतिनिधि मधु आचार्यको प्रमुख आतिथ्यमा बिस्तारित बैठक सम्पन्न भएको हो । बैठकमा जिल्लाका पदाधिकारी, सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ नगर सभापतिहरुको सहभागितामा सम्पन्न विस्तारित बैठकले कांग्रेसका अग्रज नेता एवं शहीदहरुको प्रतिमामा माल्यार्पण एवं स्मृतिसभा गरी शहीद दिवससँगै समुदायमा कांग्रेस अभियान शुभारम्भ गर्ने निर्णय गरेको हो ।

जस अन्तरगत क्षेत्र नं १ मा याम आचार्य स्मृति प्रतिष्ठान बुद्धशान्तिमा पार्टीका उपसभापति केशवराज पाण्डे, शहीद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठान बाहुनडाँगीमा समुदायमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि मधु आचार्य र वीपी स्मृति प्रतिष्ठान चन्द्रगढीमा जिल्ला सचिव कृष्ण हुमागाईलाई प्रतिनिधि पठाउने निर्णय भएको छ ।

यसैगरी क्षेत्र नं २ अन्तरगत सिके चिन्तन प्रतिष्ठानमा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ, बुटन चौधरी स्मृति प्रतिष्ठानमा कालेन्द्रप्रसाद सिंह राजवंशी शहीद राजन गिरी स्मृति प्रतिष्ठान अर्जुनधारामा जिल्ला सचिव नवीन विमलीलाई प्रतिनिधि पठाउने निर्णय बैठकले गरेको छ ।

यसैगरी झापा क्षेत्र नं. ३ अन्तरगत राम थापाको शालिकस्थल भद्रपुरमा सचिव नवीन विमली र चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठान कचनकबलमा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापालाई प्रतिनिधि तोकिएको छ ।

यसैगरी झापा क्षेत्र नं. ४ मा तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा पार्टीका सभापति देउकुमार थेवे, श्यामसुन्दर यादवको स्मृतिसभा वीपी स्मृति भवन गौरादहमा पार्टीका उपसभापति शेरबहादुर भट्टराईलाई प्रतिनिधि तय गरिएको छ ।

पार्टीका अग्रज नेता एवं शहीदहरुको सम्मान र स्मृतिमा हुने कार्यक्रमका बीच जनताका अपेक्षा, सुझाव र गुनासो सुनेर सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी गर्ने र पार्टीको नीति निर्माणमा समेट्ने उद्देश्यसहित नेपाली कांग्रेसले यही माघ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको समुदायमा कांग्रेस अभियानको पनि शुभारम्भ गरिनेछ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यसअघि आन्तरिक विशेष अभियान सम्पन्न गरेको कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको हो । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य प्रतिनिधिका रुपमा झापा आएका हुन् ।

अभियानकै क्रममा माघ १८ गते महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ नगर सभापतिहरुका लागि अभिमुखीकरण कार्यक्रम जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको छ ।

माघ २४ गते जिल्लाका १३१ वटै वडामा जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा समुदायमा कांग्रेस अभियान अन्तरगत जनतासँग संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

अभियानका क्रममा खुल्ला छलफल, समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाह अवलोकन, स्थानीय सरकार–वडा कार्यालयमा भ्रमण र संवाद लगायतका कार्यक्रम तय गरिएको केन्द्रीय प्रतिनिधि मधु आचार्यले जानकारी दिए ।

खुल्ला छलफलमार्फत तीनै तहका सरकारसँग जनताका अपेक्षा, गुनासा सुन्दै सुझाव संकलन गर्ने, समूहगत छलफलमा वडास्थित नागरिक समाज, शिक्षक, प्राध्यापक, आमा समूह, युवा समूह, कृषक समूह, स्वास्थ्य समितिहरु, ब्यवसायिक समूहसँग, मजदुरसँग छलफल गरिने बताइएको छ ।

सम्बन्धित खबर