२०८१ मंसिर १५, शनिवार , ०७:३२:५५ बजे

Sajhamanch
'

चारपाने स्वास्थ्य चौकी उद्घाटन

शुक्रवार, माघ १२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडानम्वर २ मा रहेको चारपाने स्वास्थ्य चौकी आज शुक्रबार उद्घाटन गरिएको छ । गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य चौकी आज औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले सो स्वास्थ्य चौकीको उद्घाटन गरेकी हुन् । उद्घाटन पछि मन्तब्य राख्दै नगरप्रमुख प्रसाईले जग्गादाताले जग्गा दिएको ११ वर्ष पुग्दा पनि विविध राजनीतिक परिस्थितिका कारणले स्वास्थ्य चौकी बन्न नसक्नु दुःखको कुरा भएकोे बताइन् । उनले मनलाई उदार बनाएर सात कठ्ठा जग्गा अस्पताल निर्माणका निम्ति प्रदान गरेकोमा स्थानीय चन्द्रप्रसाद बजगाईलाई विशेष धन्यवाद पनि दिइन् ।

स्वास्थ्य चौकी उद्घाटनका अवसरमा आँखा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । बिर्ता आई हस्पिटलको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा स्वास्थ्य शिविरमा नगरप्रमुख प्रसाईले आँखा परीक्षण गराएर सोको पनि उद्धाट्न गरिन् ।

सो अवसरमा मन्तब्य राख्दै बिर्तामोड वडानम्बर २ का अध्यक्ष किशोरकुमार पौड्यालले स्वास्थ्य चौकी निर्माण गर्न जग्गा उपलब्ध गराउने दाता बजगाई परिवारलाई यस क्षेत्रका नागरिकले कहिल्यै नबिर्सिन बताए ।

सो कार्यक्रममा मन्तब्य राख्दै जग्गादाता बजगाईले २०७१ सालमा अस्पतालको नाममा दान गरे तापनि लामो अवधिसम्म आफूले अपेक्षा गरिए अनुरुपको अस्पताल निर्माण हुन नसकेको भन्दै दुखेसो पोखेका थिए । भोलिका दिनमा अस्पतालको स्तरोन्नतिका लागि केही आवश्यक परेमा आफू सदैव सहयोग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा जग्गादाता चन्द्रप्रसाद बजगाई र शान्ता बजगाई, चारपाने स्वास्थ्य चौकीका पूर्व इन्चार्ज शिवप्रसाद शाहलगायत लामो समयसम्म स्वास्थ्य सेवा गरी अवकाश लिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।

कार्यपालिका सदस्य शर्मिला त्रिखत्रीले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज तुलसी पोखरेलले गरेका थिए । चौकीबाट वडाबासीलाई सर्बसुलभ उपचार सेवा उपलब्ध गराउने वडासचिव हिमा पोख्रेलले बताइन् ।

सम्बन्धित खबर