२०८१ मंसिर १५, शनिवार , १०:१६:०१ बजे

Sajhamanch
'

राजगढ महोत्सवस्थल नजिकै युवाको लाश, राजगढ क्षेत्र अशान्त

शुक्रवार, माघ १२, २०८०

बाह्रदशी । झापाको राजगढमा भइरहेको मेला महोत्सवमा रमाइलो गरेर राति घर फर्किएका बाह्रदशीका एकजना युवाको बाटैमा भएको आकस्मिक मृत्युको घटनाले अहिले राजगढ क्षेत्र असान्त रहेको पाइएको छ ।

साविक राजगढ गाविस ८ का ३० वर्षीय रविन उप्रेती हिजो बिहीबार अबेरसम्म सो मेलामा देखिएकोमा मध्यरातमा त्रिवेणीचोकमा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

केही दिनअघि मात्र विदेशबाट फर्किएका उप्रेतीले मेलामा भइरहेको जुवाजन्य खेलमा २५–३० हजार रुपैयाँ हारेको अर्का स्थानीय एक युवकले बताएका छन् । सो पछि उनीहरुले सँगै मदिरा पिएर छुट्टिएको बताइन्छ ।

उप्रेतीको शव छेउमा मोटरसाइकल अहिलेसम्म घटनास्थलमा नै रहेको छ भने स्थानीय बासिन्दा र मृतकका परिवारले लाश उठाउन नदिँदा तनावको स्थिति रहेको प्रत्यक्षदर्शी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट ठूलो संख्यामा प्रहरी फोर्स त्यता पठाइएको थाहा भएको छ । उप्रेतीको मृत्यु दुर्घटनाबाट हो वा अन्य कुनै घटनाबाट भएको हो भन्नेबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनास्थलमा प्र. १–०१–०१६ प १५५३ नम्बरको मोटरसाइकल पनि भेटिएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको हो । तर पनि घटना शंकास्पद देखिएकाले प्रहरीले स्थलगत अनुसन्धान गर्ने जनाएको छ ।

हाल सञ्चालन भइरहेका सबैजसो मेला महोत्सवमा सरकारले प्रतिबन्ध लगाएका जुवाजन्य खेलहरु निर्वाधरुपमा चलिरहेको भुक्तभोगीहरु बताउँछन् । सामाजिक सेवाको बाहिरी स्वरुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सञ्चालन भइरहेका मेलामा प्रतिबन्धित खेलहरु खुलेआम भइरहँदा पनि प्रहरी प्रशासन मुकदर्शक भइरहेको (?) वा मिलिभगत हो, त्यो पनि खोजीको विषय भएको छ ।

गए रातिको घटना (?)मा मृत्यु भएका युवाले २५–३० हजार रुपैयाँ हार्नेगरी प्रतिबन्धित जुवाजन्य खेल नभए कुन खेल खेले र त्यति रकम हारेर टेन्सनमा थिए ? सो पछि स्थानीय युवाको साथ लागेर मदिरा सेवन गरेको भन्ने कुराको पनि प्रहरीले तत्काल छानविन गरोस् ।

सम्बन्धित खबर