२०८१ पौष २४, बुधवार , १०:०२:५३ बजे

Sajhamanch
'

काठमाडौंको तापक्रम वर्षकै कम, वर्षाको सम्भावना ‘न्यून’

बिहिवार, माघ ११, २०८०

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । बिहीबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । “बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.० डिग्री सेल्सियस छ,” उनले बाह्रखरीसित भने, “काठमाडौंमा यस वर्ष यो सबैभन्दा मिनिमम हो ।”

कति हो नेपालको हालसम्मकै न्यूनतम तापक्रम ?
उनका अनुसार, यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको सोमबार ९माघ ८० मापन गरिएको थियो । माघ ८ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार, हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको उनले जानकारी दिए । काठमाडौंमा वर्षाको सम्भावना भने एकदमै न्यून रहेको उनको भनाइ छ ।

“काठमाडौंमा आज आंशिक बदली हुनेछ,” उनले भने, “काठमाडौंको उच्च पहाडतिर फाट्टफुट्ट वर्षाको न्यून सम्भावना छ । आंशिक बदलीसँगै दिउँसोतिर वर्षाको न्यून सम्भावना देखिएको छ ।”

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.४, दिपायलको ०.८, डडेलधुराको १.७, धनगढीको १.८ वीरेन्द्रनगरको २.०, ताप्लेजुङको २.८ डिग्री सेल्सियस मापन गरिएको छ । यस दिन सार्वजनिक १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम हो ।

सम्बन्धित खबर