२०८१ असोज ४, शुक्रवार , ०९:३०:५४ बजे

Sajhamanch
'

क्यानडा पढ्न आएका भैरहवाका एक विद्यार्थीलाई उद्धार गरी नेपाल पठाइयो

बुधवार, माघ ३, २०८०

टोरण्टो (क्यानडा) । गुणस्तरीय शिक्षाका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ८, बुद्धपथ भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो ।

पढ्न आएका श्रेष्ठले पढाइको अतिरिक्त आफूले सोचेजस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए । करिब १ वर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यबहार राम्रो भए पनि पछि उनी डिप्रेसनमा पर्दै गएको सागरले बताए ।

उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएपछि एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो श्रेष्ठको उद्दार गरेका हुन् । एनआरएनए क्यानडाका कार्यसमिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरी मंगलबार नेपाल पठाई दिएका थिए ।

कतार एयरवेज मार्फत उनी आज बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिएका छन् । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।

क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरी नेपाल पठाउन सफल भएको बताए । साहिल आज बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले जिम्मा लिएको ज्ञवालीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर