२०८१ माघ १४, सोमवार , ०४:३९:४२ बजे

Sajhamanch
'

विपन्न ज्येष्ठ नागरिकहरुलाई सिम्रिक साकोसको ‘ब्लान्केट माया’

बुधवार, माघ ३, २०८०

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आज बिर्तामोड नगरपालिका वडा नं. ६ क्षेत्रका १३० जनाभन्दा बढी विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै मिष्ठान्न भोजन गराएको छ ।

स्थानीय जलकन्या देवी मन्दिर परिसरमा बिर्तामोडका नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय १३० जनाभन्दा बढी विपन्न ज्येष्ठ नागरिकहरुलाई एक–एक थान ब्लान्केट वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

सुवास भट्टराई, संस्थाका अध्यक्ष

उनले सिम्रिक साकोसको कार्यक्षेत्रका सबै ५० वटै सेवा केन्द्र र आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कूल ब्याग, स्टेशनरी सामग्री, स्वीटर, जुत्ता आदि सामग्री वितरण गर्दै संस्थाले सामाजिक उत्तरदायित्व बहन गरिरहेको पनि जानकारी गराए ।

सो विशेष कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागतसहित कार्यक्रमको औचित्य प्रष्ट्याउँदै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको वित्तीय अवस्थिति प्रकाश पारेका थिए ।

उनले सिम्रिक साकोसमा हाल ६१ हजार हाराहारी सेयर सदस्य रहेका, ३४ करोड रुपैयाँभन्दा बढी सेयर पुँजी रहेको र संस्थामा ३ अर्बभन्दा बढीको सम्पत्ती रहेको जानकारी गराए ।

सहकारीलाई बैंकसँग कहिल्यै नदाँज्न आग्रह गर्दै कार्यकारी प्रमुख बस्नेतले सहकारी भनेको परिवार हो, सदस्यको सुखमा हाँस्न पुग्नु र दुःखमा मल्हमपट्टी गर्न पुग्नु सहकारीकर्मीको सौभाग्य हो भनी सहकारीको मर्म सुनाएका थिए ।

कमलबहादुर बस्नेत, संस्थाका कार्यकारी प्रमुख

कार्यकारी प्रमुख बस्नेतले भने, ‘अरु वित्तीय संस्थाहरु हामीलाई ग्राहकको रुपमा मात्र हर्ने गरिन्छ । हाम्रो कारोबारबाट उनीहरुले नाफा कमाउँछन् । तर सहकारीले कमाएको नाफा सदस्यलाई प्रत्यक्ष्य बाँडिन्छ र छुट्याइएको कोषबाट यस्ता सामाजिक उत्तरदायित्वसँग सम्बन्धित काम गर्ने गर्दछौ ।’

उनले गत पुस २८ गते शनिबार बाह्रदशी गाउँपालिका वडा नं. १ भागुडुब्बामा पनि प्रतिनिधि सभाका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सो गाउँपालिकाका १०० जनाभन्दा धेरै ज्येष्ठ नागरिकलाई एक–एक थान ब्लान्केट वितरण गरिएको जानकारी गराए ।

सो कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरी मिष्ठान्न भोजन गराएर सहकारीले रचनात्मक कार्य गरेको बताइन् ।

सहकारीका विरुद्धमा केही बेइमानहरु अफवाह फैलाउँदै हिंडेका छन् र कतिपयले त्यसलाई कथा बनाएर सुनाइरहेका छन् तर सचेत आम नागरिकहरु अफवाहका पछि नलागी सत्यका पक्षमा लाग्नुपर्ने नगरप्रमुख प्रसाईंको सुझाव थियो ।

पवित्रा महतारा प्रसाई, बिर्तामोड नगरपालिकाका प्रमुख

कोभिड १९ महामारीको समयमा नगरबासीलाई बचाउन बिर्तामोडका सहकारीहरुले पुर्याएको आर्थिक एवम् भौतिक योगदानको स्मरण गर्दै नगरप्रमुख प्रसाईंको बैंकहरुले नाफामात्र कमाउने तर पिडामा सहयोग नगर्ने प्रष्ट भएको सुनाइन् ।

सो कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाले सहकारी संस्थाको कार्यले आफूहरुको आँखा खुलेको बताए । जनताका प्रतिनिधिले गर्नुपर्ने काम सहकारी संस्थाले गरेर ज्येष्ठ नागरिकको मन जितिरहेको जिकिर गर्दै वडाध्यक्ष कन्दङवाले अब बुवाआमाको नाममा आउने वृद्धभत्ता सहकारीमा खाता खोलेर राखिदिन सुझाव दिए ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेतले सञ्चालन गरेको सो कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सञ्चालक समिति सदस्य नविन योगीले स्वागत गरेको थिए । सो कार्यक्रममा मसले कृषि सहकारी संस्थाका अध्यक्ष तेजबहादुर कन्दङवालगायतले आ–आफ्ना धारणा राखेका थिए ।