२०८१ पौष २५, बिहिवार , ११:३८:४५ बजे

Sajhamanch
'

मधेसमा शीतलहर, जनजीवन प्रभावित

शनिवार, पौष २८, २०८०

धनुषा । केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ ।

शीतलहरका कारण बालबालिका, वृद्धवृद्धा, अशक्त व्यक्ति तथा मजदुर वर्ग बढी प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको संख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने संख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा। जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिए । चिसो बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ ।

शीतलहरले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

जाडो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् ।

बाक्लो कुहिरोका कारण तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । आइतबारदेखि हुस्सु लाग्ने क्रम बढेको छ ।

सम्बन्धित खबर