राजधानी खार्तुममा हवाइ हमलासहित प्रतिद्वन्द्वी सुडानी सेनाबीचको भिडन्तमा कम्तीमा ३३ जना मारिएका छन्।सेना प्रमुख अब्देल फतह अल–बुरहानले आफ्ना पूर्वसहायक एवं अर्धसैनिक कमाण्डर मोहम्मद डागलोविरुद्ध करिब नौ महिना गरेको युद्धले सुडानलाई छोएको छ।
सशस्त्र द्वन्द्व स्थान र घटना डेटा परियोजनाको रूढिवादी अनुमानअनुसार युद्धमा कम्तीमा १२ हजार १९० को ज्यान गइसकेको छ। साथै संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धबाट ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।बिहीबार दक्षिण खार्तुमको सोबा जिल्लामा भएको हवाई बमबारीमा २३ नागरिक मारिएको र अन्य धेरै घाइते भएको आपत्कालीन वकिल समूहले आकाशमा नियन्त्रण बनाउने सेनामाथि आरोप लगाउँदै बताएको छ। वकिल समूहले दक्षिण खार्तुममा पनि तोपखाना हमलामा अन्य १० जनाको मृत्यु पुष्टि भएको जनाएको छ।
प्रतिरोध समितिका रूपमा चिनिने एक स्थानीय समूहले त्यति नै सङ्ख्यामा मृत्यु भएको सूचना दिएको थियो। मध्य अप्रिलमा राजधानीमा भड्किएको युद्धको ध्यान दक्षिणतिर सरेको छ र हालै सुडानको अल–जजिरा राज्यसम्म पुगेको छ । उक्त राज्यमा हजारौँ मानिसले शरण लिएका थिए।