बिर्तामोड । विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ बिर्तामोड लेडीले कनकाई ४ स्थित पुकार अपांग अशक्त समाजमा आश्रितहरुलाई सहयोग गरेको छ ।
संस्थाका पदाधिकारीहरुले आज बिहीबार अपांग र असहाय बालबालिकाहरुलाई खाद्यान्न, तरकारी, फलफूल र उपभोग्य सामानहरु वितरण गरेका हुन् ।
क्लबले ६० केजी चामल, १० केजी मुरै, २० केजी चिउरा, २७ केजी फूलकोभी, ३२ केजी बन्दाकोभी, एक क्यारेट टमाटर, एक क्यारेट सुन्तला, एक कार्टुन अंगुर, डाइपर, साबुन, नून, खानेतेल, चिनी लगायतका सामग्री वितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् ।
अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक चिफ सत्यनारायण शर्मा, विशिष्ट अतिथि डिष्ट्रिक चिफ निरज ओली, पुकार अपांग अशक्त समाजका संचालक निर्मला शर्मासहित लायन्सका सदस्यहरुको सहभागिता थियो ।
लायन्स क्लब अफ बिर्तामोड लेडीको यो ३८औं कार्यक्रम भएको जनाइएको छ । केही दिनअघि पनि सो संस्थाले अर्जुनधारा ८ स्थित चन्द्रोदय प्राथमिक विद्यालयका १५८ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरेको थियो । यस्तै, हिमाली मावि लक्ष्मीपुरका विद्यार्थीहरुलाई झुल र किराना सामान सहयोग गरिएको अध्यक्ष ओलीले जानकारी दिइन् ।