२०८१ पौष २८, आइतवार , ११:००:११ बजे

Sajhamanch
'

राष्ट्रिय सभामा सिटौला अध्यक्ष बन्न जाने हो : महामन्त्री शर्मा

बिहिवार, पौष २६, २०८०

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभामा उम्मेद्वारी सदस्य बन्नका लागि मात्रै नभई राष्ट्रियसभा अध्यक्षका लागि भएको बताएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न गठबन्धन दलसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री शर्माले शान्ति प्रक्रियाका अधुरा काम पूरा गरेर संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न मतदाताहरुलाई आह्वान गरेका हुन् ।

कोशी प्रदेशबाट गठबन्धनका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजक भएर संविधान निर्माण गर्न अत्यन्तै महत्वपूर्ण काम गरेको चर्चा गर्दै महामन्त्री शर्माले संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रियसभामा सिटौलाको आवश्यकता औंल्याएका हुन् ।

उम्मेद्वार चयनका सवालमा केन्द्रीय समितिमा ब्यापक छलफल र बहस भएको प्रसङ्ग कोट्याउँदै महामन्त्री शर्माले पार्टीले उम्मेद्वार निर्णय गरिसके पछि कांग्रेसभित्र कुनै प्रकारको फरक मत र द्विविधा नरहेको पनि जनाए ।

कार्यक्रममा गठबन्धन दलको तर्फबाट राष्ट्रियसभा सदस्य पदका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पार्टी र सिङ्गो गठबन्धन दलले नै संविधानको पूर्ण कार्यान्वयनका लागि आफूलाई उम्मेद्वार प्रस्ताव गरेको हुँदा संविधानको रक्षाका लागि गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गरे ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गरेका थिए ।

यसैबीच, सत्तारुढ गठबन्धन दलको निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गठबन्धन दल, राष्ट्रियसभाका उम्मेद्वार, सांसद र पालिका प्रमुख÷उपप्रमुखको संयुक्त बैठकले नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको संयोजकत्वमा ‘राष्ट्रियसभा निर्वाचन २०८०, निर्वाचन परिचालन समिति’ गठन गरेको हो ।

समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट राम कट्टेल र कृष्ण हुमागाई, नेकपा माओवादीका राजु आचार्य अग्नि र मोहन टुडु, नेकपा समाजवादीका बेदराज रेग्मी र वीपी भट्टराई, जनता समाजवादीका दिपेनवाला राई र गौरीमान राई रहेका छन् ।

सम्बन्धित खबर