२०८१ माघ १६, बुधवार , ०३:३७:२६ बजे

Sajhamanch
'

सम्मान र पुरस्कार हस्तान्तरणसहित जिल्ला सहकारी संघ झापाको साधारणसभा सम्पन्न

बुधवार, पौष २५, २०८०

झापा । सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको २७औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन समारोहमा उनले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४९२ संघ–संस्थाहरु जिल्ला संघमा आवद्ध रहेको जानकारी दिए ।

संस्थाको शेयर पुँजी ३ करोड ८९ लाख २३ हजार १०० रुपैयाँ रहेको छ भने संस्थाको कोष हिसाब ७ करोड ८५ लाख ९८ हजार ७४१ रुपैयाँ, निक्षेप १९ करोड ९१ लाख ७८ हजार २३० रुपैयाँ र कर्जा लगानी १८ करोड ४५ लाख ८१ हजार १५५ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

भद्रपुरमा ३ कठ्ठा १८ धुर र बिर्तामोडमा १ विगाहा ४ कठ्ठा १ दशमलव ७५ धुर गरी संस्थाको नाममा करिव ७ करोड ५० रुपैयाँ बराबरको जमिन रहेको अध्यक्ष ढकालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कोशी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभा समारोहमा उनले सहकारीहरुले सरकारको भन्दा राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

झापा जिल्लाको आधा जनसंख्या सहकारी अभियानमा कुनै न कुनै रुपमा जोडिएको प्रतिवेदनमा उल्लेख छ तर अधिकांशले बचत तथा ऋणको काराबोरमा ध्यान दिएकाले उत्पादनको क्षेत्रमा पनि ध्यान दिन उनले आग्रह गरे ।

सहकारी, लघुवित्त र बैंकको भूमिका र अर्थ नै नबुझेका मानिसहरु यसका विरुद्धमा लागेको पाउँदा आफूलाई दुख लागेको भन्दै सांसद कार्कीले सदस्यको रकमले सञ्चालन गरिने सहकारीको ऋण नतिर्न उर्दी गर्नुले यसको पुष्टि गरेको बताए ।

सञ्चालक र कर्मचारीहरुको बदमासीले कतिपय सहकारीले बचतकर्ताको सावाँ फिर्ता गर्न र ब्याज बुझाउन नसकेर समस्यामा रहेको अथ्र्याउँदै प्रदेश सांसद कार्कीले नेपालमा नै उत्पादन हुने वस्तुहरुमा परनिर्भरताका कारण हामी कमजोर बनिरहेको प्रष्ट पारेका थिए ।

साधारणसभा समारोहमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले अध्यक्ष ढकालद्वारा प्रस्तुत गरेको प्रतिवेदनका केही तथ्याङ्कहरु माथि प्रामाणिकता खोजेका थिए ।

नेपालको अर्थतन्त्रमा सहकारी अभियानको योगदान, रोजगारी प्रदानको तथ्याङ्क, गरिबी न्यूनीकरण एवम् आर्थिक क्षेत्रमा सहकारीको योगदानको सही तथ्य र विश्लेषण आउन नसकेकाले कम्तीमा जिल्ला संघको नेतृत्वमा झापाको रिपोर्ट तयार गर्नुपर्नेमा उप्रेतीले जोड दिए ।

सहकारी क्षेत्रमा उत्पन्न हालको समस्या अल्पकालीनमात्र भएको निश्कर्ष निकाल्दै सहकारी अभियन्ता उप्रेतीले आफूलाई सहकारीकर्मी हुँ भनी चिनाउन शीर निहुराउनु पर्ने अवस्था नआउने विश्वास पनि दिलाए ।

जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै सहकारीमा विद्यामान संक्रमणकालबाट बचाउन जिल्ला संघले अभिभावकको भूमिका खेल्न अग्रसर रहेको भनी आश्वस्त पारेका थिए ।

जिल्ला संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको साधारणसभा समारोहमा संघका सल्लाहकार दुर्गाप्रसाद सापकोटाले मेचीदेखि महाकालीसम्मका सहकारीहरुमाथि हिलो छ्यापिँदा नीति निर्माताहरु किन मौन बसिरहेका भनी प्रश्न गरेका थिए ।

बैंक, फाइनान्स, सहकारी र लघुवित्त सबैलाई एउटै डोकोेमा राखेर यिनका विरुद्ध भाँडभैलो गर्ने छुट किन दिइँदैछ । अनि यस्ता वितण्डावादीहरुलाई सहकारीकर्मीहरु भेलाभएर बेलैमा ठेगान लगाउन किन ढिला भइरहेको हो ? जिल्ला संघ किन अग्रसरता लिइरहेको छैन ? सापकोटाको प्रश्न थियो ।

साधारणसभा समारोहको उद्घाटन सत्रमा गत ६६औं राष्ट्रिय सहकारी दिवसमा घोषणा गरिएको विभिन्न विधाका ११ जनालाई पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो ।

संघले झापाली सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेको छ । पत्रकार गोविन्दचन्द क्षेत्रीलाई नगद १० हजार ५५५ रुपैयाँसहित उत्कृष्ट सञ्चारकर्मी पुरस्कार, देवीप्रसाद दाहाललाई नगद १० हजार ५५५ रुपैयाँसहित पूर्व सञ्चालक सम्मान प्रदा नगरिएको थियो ।

यसैगरी, उत्कृष्ट कृषि सहकारीका रुपमा बुद्धशान्तिको होक्से कृषि सहकारी, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेचीनगरको मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा मेचीनगरकै पूर्वीद्वार साकोस, उत्कृष्ट बचत कारोबारका रुपमा कमलको नवोदय बहुउद्देश्यीय, उत्कृष्ट कर्जा कारोबारका रुपमा हल्दिबारीको हाम्रो गोलधाप कृषि सहकारीलाई १० हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट ब्यवस्थापक महिलातर्फ दमकको नवदुर्गा बहुउद्देश्यीय सहकारीका धनकुमारी पौडेल र पुरुषतर्फ गौरदहको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारीका तिलक कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही ५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

यस्तै उत्कृष्ट पालिका समन्वय समितिका रुपमा गौरीगञ्ज पालिका सहकारी समन्वय समितिलाई सम्मान गरिएको छ ।

सम्बन्धित खबर