बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडको साधारण सभा आज सम्पन्न भएको छ ।
प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा आयोजित साधारण सभामा उनले कक्षा ११ र १२ को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम वितरण गरिएको तर विद्यालय ग्रेडिङको प्रस्तावलाई प्याब्सनले स्वीकार नगर्ने बताए । उनले व्यवसायिक एकता आवश्यक भएको औंल्याउँदै संस्थागत विद्यालयहरुलाई एकीकृत भई समान धारणा बनाउन आग्रह समेत गरेका छन् ।
प्याब्सनका पूर्व केन्द्रीय सदस्य गुरुभक्त न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सहसचिव देबेन्द्र हुमागाईले स्वागत मन्तब्य व्यक्त गर्दै स्थानीय सरकारले विभिन्न बहानामा दुःख दिने गरेको बताए । उनले कहिले परीक्षाको नाममा त कहिले छात्रवृत्तिको नाममा निजी विद्यालयलाई स्थानीय सरकारले विभेद गरेको जिकिर गरेका थिए ।
साधारण सभामा सचिव सुरेन्द्र खरेलले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने हरिकृष्ण पाठकले शुभकामना मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय सरकारले संस्थागत विद्यालयको योगदानको मूल्यांकन गर्न कन्जुस्याइँ गरेको आरोप लगाएका थिए ।
बिर्तामोड नगरपालिका भित्रका ४८ वटा संस्थागत विद्यालयहरु प्याब्सनमा आबद्ध छन् ।