
झापा । पूर्व–पश्चिम विद्युतीय रेलवे निर्माणका लागि सरकारले रोक्का गरेको जमिनको मुआवजा वा क्षतिपूर्तिसहित फुकुवा सम्बन्धी माग लिएर प्रभावितहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।
रेलवे प्रभावित तथा मुआवजा निर्धारण समन्वय समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनाली नेतृत्वको प्रतिनिधिमण्डलले निकै मिहिनेत र प्रयास पछि आज प्रधानमन्त्री प्रचण्डसंग भेटगरी छलफल भएको महासचिव रञ्जित प्रसाईंले जनाएका छन् ।
समन्वय समितिका महासचिव प्रसाईंले सामाजिक सञ्जाल फेसबुक टाइमलाइनमा उल्लेख गरेअनुसार प्रधानमन्त्री दाहालले क्याबिनेटमा छलफल गरी तत्काल निर्णय गर्ने अश्वासन दिएका छन् ।
समन्वय समितिका सदस्यहरु विश्वराज नेउपाने, अनिल तामाङ, रेल्वे प्रभावित तथा सांसद सुनिता बराल, सांसद अमृतलाल राजवंशी, सांसद हर्कमाया बिक, कोशी प्रदेशका सांसद मिना श्रेष्ठ लगायतको सहभागितामा प्रधानमन्त्री दाहालसँग भेटेर समस्या सुनाइएको महासचिव प्रसाईंले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री दाहालसँग भेट्न गएको रेलवे प्रभावित तथा मुआवजा निर्धारण समन्वय समितिका प्रतिनिधिहरुसँग नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, पूर्वमन्त्री वर्षमान पुन लगायतले कुराकानी गरेका थिए ।
रेलवे प्रभावित तथा मुआवजा निर्धारण समन्वय समितिका प्रतिनिधिहरुले सभामुख देवरज घिमिरे र उपसभामुख इन्दिरा राना मगरसँग फेरि पनि आफ्नो समस्या सुनाएका छन् । यही विषयमा भौतिक योजना मन्त्री प्रकाश ज्वाला, प्रतिनिधि सभा विकास समितिका सभापति दिपक सिंहसँग भेटेर रेलवे प्रभावितका समस्या प्रस्तुत गरिएको महासचिव प्रसाईंले उल्लेख गरेका छन् ।
रेलवे प्रभावितहरु उक्त विषयमा कतिसम्म पिडीत रहेछन् भन्ने बुझ्न यो एउटा स्टाटस नै काफी छ ।
पूर्व पश्चिम रेलवेको डिपीआर तयार भए अनुसार रेलको भागमा पर्ने जग्गा जमिन रोक्का भए, क्षतिपूर्ति दिने भनियो । कसैको भएको जग्गा जमिन मात्रै होइन, घरसमेत परेको छ । आज यतिका वर्ष हुँदा पनि क्षतिपूर्ति दिने त कता हो कता क्षतिपूर्ति नै निर्धारण नगरी उल्टो चलन गर्न समेत नपाउने गरी रोक्का गरेर राख्नु राज्य अभिभावक भएको दृष्टिकोणबाट नागरिकको सम्पत्तिको हक उल्लंघन भएको छ । तसर्थ या त क्षतिपूर्ति या त अब रेल आवश्यक छैन भनेर निर्णय गरी सम्पति फुकुवामध्ये एउटा निर्णय हुनैपर्छ । छिटो निर्णय गरेर मार्ग प्रशस्त गर्नु आवश्यक छ । छिटो निर्णय भएन भने सम्मानित सर्वोच्च अदालतमा रिट निवदन दिई न्याय माग्नुको विकल्प छैन मित्रहरु, । त्यसको लागि हामी तयार रहौं ।