
मेचीनगर। मेचीनगर नगरपालिका वडा नं. ४ को आयोजनामा बाहुनडाँगीमा यो वर्ष पनि तरुल उत्सव गरिने भएको छ । स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको हो । आगामी माघ १ गते सोमबार बाहुनडाँगी बजारमा तरुल उत्सव हुन लागेको हो ।
बडाध्यक्ष अर्जुन कार्कीले गत वर्षदेखि वडाको संयोजनमा उत्सवको आयोजना गर्न थालिेएको बताउँदै यसलाई संस्कृतिकसँग जोड्ने जानकारी दिएका छन् । परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उनले बताए ।
‘हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ । मानव जातिले जङ्गली जीवनदेखि नै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए’ वडाध्यक्ष कार्कीले भनेका छन् ‘हामीले अर्ग्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौँ ।’
वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा घर, वन, सिमल, सुठुनी लगायत विभिन्न प्रजातिका तरुल राखिने छन् ।