२०८१ मंसिर १२, बुधवार , ०२:०४:१४ बजे

Sajhamanch
'

मैनालीसँगै निरौला र भट्टराई पनि बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी मैदानमा

बुधवार, पौष १८, २०८०

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि तय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवार बन्न चाहानेहरुले धमाधम नाम घोषणा गर्न थालेका छन् ।

स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको टिमबाट युवराज निरौला र गोमा भट्टराईले उम्मेदवारी दिने बताएका हुन् । प्यानलमा पदीय जिम्मेवारी के हुने भन्ने तय भइनसकेकाले कुन पदमा उठ्ने भनी नखुलाए पनि दुवैजना निर्वाचनको तयारीमा जुटेको पाइएको हो ।

युवराज निरौला न्यू मोबाइल एशेसरिजका सञ्चालक हुन् । उनी विगत १६ वर्षदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका युवा ब्यवसायी हुन् ।

सामाजिक क्षेत्रमा समेत सक्रिय निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको अध्यक्ष हुन् भने मोवाइल एशोसिएसन बिर्तामोडको दोस्रो कार्यकालका लागि पनि भर्खरै अध्यक्षमा दोहोरिएका छन् । उनी बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक पनि रहेका छन् ।

निरौलाले बिर्तामोड उद्योग वाणिज्य संघ व्यवसायिक संस्था भएर पनि हालसम्म व्यवसायी मैत्री हुन नसकेको दावी गरिरहेका छन् । बजारलाई व्यवस्थित र थप चलायमान बनाउन वाणिज्य संघमा आफ्नो उपस्थिति आवश्यक रहेको भन्दै यसपटक आफू शुभेच्छुकहरुको सल्लाहमा जिम्मेवार पदमा उम्मेदवार बन्ने उनको भनाई छ ।

लामो समयदेखि बिर्तामोडमा प्रगति पुस्तक भण्डार सञ्चालन गरिरहेकी गोमा भट्टराई सामाजिक कार्यमा पनि अग्रणी र परिचित व्यक्तित्व हुन् । उनी वाणिज्य उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्न तयारी गरिरहेकी छन् ।

भट्टराईले पनि आफू कुन पदमा उम्मेदवार बन्ने भन्ने कुरा स्वतन्त्र व्यवसायीहरुको प्यानलले टुंगो लगाउने भन्दै आफू चुनावको तयारीमा लागेको जानकारी दिएकी हुन् ।

अहिलेसम्म उद्योग वाणिज्य संघ बिर्तामोडको मूल नेतृत्व व्यवसायीका समस्यामा भन्दा पनि स्वागत र विदाईका काममा मात्रै लागेको भट्टराईको गुनासो छ ।

भट्टराई महिला उद्यमी संघ झापाको संस्थापक अध्यक्ष, विरता लेडी जेसीजको महासचिव हुंदै हाल नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको उपाध्यक्ष हुन् भने सामाजिक संस्था तारा नमस्ते बालग्रामको कोषाध्यक्ष पदमा रहेर काम गरिरहेकी छन् ।

सम्बन्धित खबर