२०८२ जेठ २९, बिहिवार , ०३:१९:३८ बजे

Sajhamanch
'

कांग्रेसको तलाउमा ढुंगा हानेर तरंग ल्याउने इच्छा छैन : अध्यक्ष ओली

सोमवार, पौष १६, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलहरु संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको विषयमा एक ठाउँमा रहेको बताएका छन् ।

सोमबार कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको कार्यक्रममा ओलीले भने ‘लोकतान्त्रिक गणतन्त्रमा हामी एक छौँ । शान्तिको प्रश्नमा हामी एक छौँ । हुनुपर्दछ । सुशासनको पक्षमा एक छौं । विकासको पक्षमा हामी एक छौँ ।’

यस्तै उनले कांग्रेसको तालमा तरंग ल्याउने आफ्नो इच्छा नरहेको बताए । ‘अहिले सरकार सञ्चालनमा सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुंगो फुत्त फालेर कुनै तरंग ल्याउने मेरो इच्छा छैन,’ उनले भने, ‘त्यता पट्टी म जान चाहन्नँ । कुनै अमन चैनमा खलल पार्न चाहन्नँ । त्यो सीमाभित्र मात्रै म बोल्छु ।’

तर, उनले सांकेतिक रुपमा कांग्रेस एमालेसँग मिलेर बलियो सरकार बनाउन तयार नभएको भन्दै प्रश्न उठाए । ‘नेपाली कांग्रेसको नीति के हो ? एक तले घर मात्र बनाउने हो ? मैले नबुझेको ?’ उनी भन्छन्, ‘कम जमिनमा धेरै तला भएको नभत्किने गरी घर बनाऊ, एउटै घरमा धेरै कार्यभार चलोस् ।’

ओलीले देश राजाले नभई जनताले बचाउने बताए । उनले सिक्किमको उदाहरण दिएर राजावादीहरूलाई प्रश्न गरे । उनले भने, ‘सिक्किममा राजा थिए, स्वतन्त्र देश थियो । राजा हुँदा देश बच्दो रहेछ ? देश बचाउने राजाले कि जनताले हो ?’ सिक्किमा राजतन्त्र रहेका बेला त्यहाँ भएको संविधानसभाको चुनावमार्फत सिक्किलाई भारतमा विलय गराइएको थियो ।

ओलीले राजतन्त्र फेरि आउन नदिनेसमेत उद्घोष गरे । उनले भने, ‘हाम्रो कपाल त्यतिकै फुलेको छैन । हामी राजतन्त्र आउन दिँदैनौँ । तानाशाह सिस्टम ल्याउन दिँदैनौँ यो देशमा ।’

कांग्रेसका नेताहरु आजको सन्दर्भमा राष्ट्रिय एकता, महत्त्व, सान्दर्भिकता र आजको दिनमा यसलाई कसरी रूपान्तरित गर्नुपर्ने बताए ।

ओलीले बालकुमारीमा हुलमा मन्त्रीले गाडी लिएर गएर निहुँ खोजेको बताए । ओलीले मन्त्रीले गाडी लिएर हुलमा गएपछि निहुँ खोजेपछि भीड थप उत्तेजित भएको बताएका हुन्।

‘मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपर्‍यो रु हुलमा गएर, निहुँ खोजेर, उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेको छ,’ उनले भने।

सम्बन्धित खबर