झापा । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्यको सुरुवात गरेको छ ।
बायोग्यास उत्पादनका लागि सुरु गरिएको सो कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य शुक्रबारदेखि सुरु गरेको हो । सेग्रीगेसन परीक्षणकारुपमा सुरु गरिएको कम्पनीले जनाएको छ ।
कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्माले संयुक्तरुपमा सेग्रीगेसन मेसिनको बटम थिचेर सेग्रिगेसन मेसिनको उद्घाटन गरेका हुन् ।
सो मेसिनमा सेग्रिगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइनेछ भने नकुहिने प्लाष्टिकजन्य फोहोर अर्कै स्थानमा राखिनेछ । यस्ता नकुहिने फोहोरजन्य वस्तुबाट पेवर्स,ब्लग बनाउने योजना रहेको जनाइएको छ ।
उक्त मेसिन खरिद प्रक्रियामा रहेकोले एक महिना देखि डेढ महिना भित्रमा त्यो मेसिन पनि जडान हुने र तीनैवटा पालिकाको फोहोर व्यवस्थापनमा सहज हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिम अलिले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुने बताइन् । फोहोर स्रोतमै वगीकरण गर्नुपर्ने भएकोले घर,पसल, होटलमै कुहिने र नकुहिने फोहोर छुट्याउन नगरबासीलाई उनको आग्रह छ ।
हाल बिर्तामोडको कृषिथोक बजारबाट निस्किएको फाहोरमात्रै प्लाण्टमा गईरहेको र अब बाँकी फोहोर पनि चाँडै पठाइने नगर प्रमुख प्रसाईले जानकारी दिइन् ।
यस्तै कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोख्रेलले क्रमागतरुपमा ढिलै भएपनि लक्ष्य प्राप्तिको दिशामा पुगको बताए । तीनवटै पालिकाबाट सेग्रिगेसन गरिएको फोहोर ल्याउनु पर्नेमा जोड दिँदै नगरप्रमुख पोख्रेलले स्रोतमै वर्गीकरण गर्न सबैलाई आग्रह गरे ।
सेग्रिगेसन मेसिनको औपचारिक उद्घाटन आगामी सोमबार गरिने कम्पनीका अध्यक्ष मदन गोपाल सुब्बाले जानकारी दिए । सेग्रिगेसन परीक्षण कार्य उद्घाटनमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमाल, कम्पनीका वोर्ड सदस्य मिनाल तिम्सिना लगायतको उपस्थिति थियो ।
कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृनिकाय र स्थानीय नागरिकसमेतको लगानी रहेको परियोजनामा २२ करोड रुपैयाँ खर्च भएको छ । कनकाई नगरपालिका वडा नं. २ मा रहेको सो प्लान्टबाट फोहोर मैलाको दीगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने सञ्चालकहरुको अपेक्षा रहेको छ ।