२०८२ असार ४, बुधवार , १२:५४:१७ बजे

Sajhamanch
'

बिर्तामोडमा जुत्ता चप्पल व्यापार महोत्सव

बुधवार, पौष ११, २०८०

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल ब्यापार महोत्सव शुरु भएको छ ।

‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराका साथ पुष ९ गते सोमबारदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको जनाइएको छ ।

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरुको स्टल राखिएका छन् । मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेको अध्यक्षतामा भएको महोत्सवलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहका प्रमुख अतिथि संग्रौलाले स्वदेशी उत्पादनलाई टेवा पुर्याउन स्वदेशी कम्पनीहरुले मिलेर संचालन गरेको महोत्सवलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले व्यापार खस्किँदै गएको सिटी सेन्टरमा महोत्सवको सञ्चालनले मार्केटको प्रवर्धनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

स्वदेशमा उत्पादित जुत्ता चप्पल र स्वदेशी ब्राण्डहरुलाई उपभोक्ताहरुको माझमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख शहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आइरहेको कार्यक्रमका अध्यक्ष घिमिरेले जानकारी दिए । नेपाली जुत्ता उद्योगी समूहले यसअघि देशका ६ वटा जुत्ता चप्पल व्यापार महोत्सव सम्पन्न गरिसकेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमियाले स्वदेशी उत्पादन र कम्पनीलाई माया गर्न सबैलाई आग्रह गरे । त्यस्तै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण फुयलले महोत्सवमा कम्पनीकै ब्रान्डेड सामान पाइने भएकाले ठगिने समस्या नहुने र भारी छुट पनि पाइने बताए । उनले आफूहरु प्रतिष्पर्धी भए पनि स्वदेशी सामानको प्रवर्धन गर्न कै लागि विभिन्न ८ वटा कम्पनीले मिलेर महोत्सव संचालन गरेको बताए ।

कार्यक्रमको संचालन सिटी सेन्टरका संचालक उमेश राउतले गरेका थिए । महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा रन शुज इन्डष्ट्रिजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।

सम्बन्धित खबर