२०८२ असार २, सोमवार , १०:१०:१६ बजे

Sajhamanch
'

सप्तकोसीमा श्रीलंका टापु जोड्ने झोलुंगे पुल बन्ने

मङ्गलवार, पौष १०, २०८०

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोसी नदीमाथि बन्ने उक्त झोलुंगे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।

संघीय सरकारको ठूला झोलुंगे पुल निर्माण विभागअन्तर्गत सप्तकोसीमा पहिलो पटक यति लामो झोलुंगे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०को काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

गुरुङका अनुसार सुनसरी क्षेत्र नं ४ का संघीय सांसद तथा पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेको हो । झोलुंगे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौंले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए । सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो ।

सबइन्जिनियर यादवले डीपीआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताए । नमुना झोलुंगे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।

बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलंका टापुमा चार हजार पाँच सय घर धुरीका १० हजारबढीको बसोबास रहेको बराहक्षेत्र–६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताए ।

श्रीलंका टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ । झोलुंगे पुल बनेपछि टापुवासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताए । उनले भने, “यहाँ पुल बनेपछि टापुवासीको जीवनका साथै सिङ्गो बराहक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि वृद्धि हुने विश्वास छ ।”

जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौंदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुंगाको प्रयोग गर्दै आइरहेका छन् । वर्षायाममा सप्तकोसीमा पानीको बहाब बढ्ने भएकाले डुंगाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताए ।