२०८१ मंसिर १५, शनिवार , ०५:२६:१७ बजे

Sajhamanch
'

कमल गाउँपालिकामा कृषिजन्य औजार प्रयोगको दररेट तोकियो

बिहिवार, पौष ५, २०८०

कमल । झापाको कमल गाउँपालिकामा पहिलो पटक ट्याक्टरबाट खेत जोतेको मूल्य निर्धारण भएको छ ।

कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसानलाई ठगिनबाट जोगाउन लागि दररेट निर्धारण गरेको हो ।

झापामा पहिलो पटक कमल गाउँपालिकाले किसानले कृषि प्रयोजनका लागि ट्याक्टर प्रयोग गर्दाको दररेट तोकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले निर्धारण गरेको दररेट अनुसार रोडाभेटरबाट जोते बापत किसानले प्रतिघण्टा दुई हजार रुपैयाँ तिर्नु पर्नेछ । यसभन्दा अघि २ हजार ५०० रुपैयाँसम्म किसानले भुक्तानी गर्दै आएका थिए ।

ट्याक्टर धनीले मनपरी रूपमा किसानबाट रकम असुल्दा पनि स्थानीय सरकारको चासो नगएको भन्दै विरोध हुन थालेपछि गाउँपालिकाले दररेट निर्धारण गर्नु परेको अध्यक्ष हुकुमसिंह राईको भनाई छ ।

यसैगरी कल्टिभेटर जोताइ गर्दा प्रतिघण्टा १ हजार ५०० रुपैयाँमात्र तोकिएको छ । यो मूल्य निर्धारण नहुँदा किसानबाट दुई हजारभन्दा बढी रकम ट्याक्टर सञ्चालकहरूले लिँदै आएका थिए ।
बारम्बार इन्धनको मूल्य बढेको भन्दै ट्याक्टर सञ्चालकहरूले किसानबाट बढी रकम असुल्दै आएका थिए ।

धान झार्न थ्रेसर प्रयोग गर्दा २० टिनको १ टिन किसानले दिनुपर्नेछ । यसभन्दा अघि १५ टिनको १ टिन किसानले दिनुपर्ने अवस्था थियो । किसानले पछिल्लो समयमा राँगा गोरुको प्रयोग गर्न छाडेपछि ट्याक्टरमा नै निर्भर रहनु परेको छ । ट्याक्टरले बढी शुल्क लिँदा उत्पादन लागत समेत बढेको थियो ।

पालिका अध्यक्ष राईका अनुसार तोकिएको दररेटभन्दा बढी रकम असुल गरेको पाइए आवश्यक कारबाही गरिने छ । ‘‘हामीले लामो छलफल र वैज्ञानिक रूपमा दररेट निर्धारण गरेका हौँ’, उनले भने, ‘‘यसको पालना सबैले गर्नुपर्छ र नगरे कारबाही भोग्न तयार हुनुपर्छ ।’’