बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ आगामी पुस २७ गते रिलिज हुँदैछ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीब्र प्रचारप्रसारमा पनि लागेको छ । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
निर्देशक लामिछानेले फिल्मका सम्पूर्ण कलाकारले निकै राम्रो काम गरेको र फिल्मले दर्शकको मन सोझै छुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । चित्रा दर्शकले कतिको मन पराउनु हुन्छ भन्ने कुरामा निर्देशक लामिछाने उत्सुक छन् ।
उनी भन्छन् ‘मैले यसमा नयाँ कुरा केही दिएको छैन, दर्शकले मन नपराउने कुरा फिल्ममा छँदैछैन, यो युनिभर्सल एउटा सत्य हो, बाबु छोरी सम्बन्ध । त्यो सम्बन्धलाई र यो विषय मन नपराउने दर्शकहरु नै को होला र ? त्यसकारण नै यस फिल्ममा त्यो पावरसँगै आकर्षण छ ।’
फिल्ममा रोदनका कथा मात्र नभएर धेरै मसलाहरू पनि मिसिएको लामिछानेको भनाइ छ ।
फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरि, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । यस्तै, फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन छ ।