२०८१ फागुन ११, आइतवार , ०१:१४:५८ बजे

Sajhamanch
'

एमाले संकल्प यात्राको टोली २८ गते धनकुटा आइपुग्ने, स्वागतसहित जनसभाको तयारी पूरा

बुधवार, मंसिर २७, २०८०

धनकुटा । नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको टोली मंसीर २६ गते कोशी प्रदेशमा प्रवेश गरेको छ भने भोलि २८ गते धनकुटा आइपुग्ने भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मंसीर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्य पहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५औं दिनमा धनकुटा आइपुग्न लागेको हो ।

सोही सन्दर्भमा आज नेकपा एमाले धनकुटा जिल्ला प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ ।

संकल्प यात्राको टोलीलाई भोलि २८ गते बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।

‘‘२८ गते बिहान ९ बजेतिर टोली लेगुवा आइपुग्छ, टोलीमा सहभागी सबै नेता कार्यकर्ताहरुलाई फूलमाला लगाएर हामीले जिल्लामा स्वागत गछौँ’ अध्यक्ष पराजुलीले भने, ‘लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिंधुवामा कार्यक्रमहरू राखिएका छन् । त्यहाँका कार्यक्रमहरूमा सहभागी हुँदै टोली बसन्तपुर पुगेपछि त्यहाँ वृहत आमसभा गर्ने तयारी गरेका छौं ।’

संकल्प यात्रामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहित ५०० भन्दा बढी नेता कार्यकर्ता सहभागी छन् ।

संकल्प यात्राका क्रममा धनकुटा जिल्ला प्रवेश गरेको अभियान अन्तरगत लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछ ।

अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सोही अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई स्मरणपत्र बुझाउने कार्यक्रम राखिएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार धनकुटाको जोरपाटीमा पनि संकल्प यात्राको टोलीलाई स्वागत गर्ने तयारी छ । सिधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

सिधुवाको कार्यक्रम सकेपछि बसन्तपुरमा दिउँसो आमसभा गर्न लागिएको छ । धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्त रुपमा गर्न लागिएको आमसभामा हजारौं पार्टी कार्यकर्ता एवम् शुभेच्छुक शुभचिन्तक सहभागी हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख नैन विश्वकर्माले जानकारी दिए । आमसभामा धनकुटाबाट पाँच हजारभन्दा बढी मानिस जाने तयारी छ ।