नेपालगन्ज । बाँके र बर्दिया जिल्लाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ–संस्थाहरुले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् ।
उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जनभन्दा बढी क्रियाशील संघ–संस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत १४ बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जका निमित्त निर्देशक रामकुमार कार्कीमार्फत गर्भनर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । गर्भनरलाई बुझाएको ज्ञापन पत्र अर्थमन्त्रीलाई बोधार्थ पठाइएको छ ।
ज्ञापन पत्रमा एक अंकको बैंक ब्याजदर कायम गर्नुपर्ने, १५ महिने कोरोना कालको बेला बैंकलाई तिरेको ब्याज फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले सुरुको सम्झौता अनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धिकरणको कागजात अनिवार्य गर्नुपर्ने लगायतका माग रहेका छन् ।
ज्ञापनपत्र बुझाउँदै समितिका संयोजक टंकबहादुर धामीले आफ्ना मागहरु सुनवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । उनले ज्ञापन पत्र बुझाउने क्रममा भने, ‘पहिलो चरणमा हामीले ज्ञापनपत्र मार्फत हाम्रा मागहरु प्रस्तुत गरेका छौं । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्नेछौं ।’
संघर्ष समितिले विरोधमा कालो पट्टि बाँध्ने, अनसन बस्ने र व्यवसायी सभा गर्ने तयारी गरिरहेको उनले जनाएका छन् ।