२०८१ माघ १४, सोमवार , ०७:५९:४२ बजे

Sajhamanch
'

नवरङ्ग साकोस दमकको कार्यालय बन्द भएको महिनौ बित्यो तर खोजखबर छैन, बचतकर्ता मारमा

सोमवार, मंसिर २५, २०८०

दमक । झापाको दमक ६ मा सञ्चालित नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौं रुपैयाँ रकम फिर्ता नगरी बन्द भएको छ ।

सो संस्थाले बचतकर्ताहरुलाई फिर्ता दिनुपर्ने रकम फिर्ता नगरी एकाएक गत दशैं अघिदेखि नै कार्यालय बन्द गरेको हो । ‘संस्थाको कार्यालय बन्द छ, यहाँ बचतकर्ता आएर माथिल्लो तलासम्म पुग्दै फर्किएर जाने गर्छन, अफिसको फोन उठ्दैन । सर्वसाधारण बचतकर्ताहरुले संस्थाका कर्मचारी र सञ्चालकहरुसँग सम्पर्क गर्ने अरु कुनै माध्यम पनि छैन’ थानारोडमा रहेको सो संस्थाको कार्यालय छेवैका एकजना व्यवसायीले सञ्चा।कर्मीलाई जानकारी दिए ।

सो संस्थामा आफनो बचत रकम फिर्ताको लागि कार्यालय समयमा पटक पटक गए पनि कार्यालय बन्द रहेको देखेपछि आफू आश्चर्यमा परेको बचतकर्ता चेसुङ लिम्बूले बताइन । सो संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नदिई उल्टै बचतकर्ताहरु माथि सहकारीका सञ्चालक समिति र जिम्मेवार कर्मचारीहरुले गैह्र जिम्मेवारपूर्ण जवाफ दिने गरेका बचतकर्ताहरुको भनाई छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इनरुवाका निमित्त रजिष्टार हरिबहादुर खत्रीले सो सहकारी संस्था बन्द रहेको भन्ने सूचना पाएर आफूहरु पटकपटक कार्यालय खोल्ने प्रयासमा लागेको तर संस्थाका सञ्चालकहरु नै पत्ता नलागेको बताए । निमित्त रजिष्टार खत्रीले भने– ‘पहिलाका सञ्चालकहरुले अर्कैलाई जिम्मा दिएको भनेका छन तर आधिकारिक रुपमा हाम्रो कार्यालयमा त्यो सहकारी दर्ता हुँदाका बखतको बाहेक कुनै कागजात र तथ्याङकहरु पठाएका छैनन, योसँग सम्बन्धित मानिसहरु फरार छन । घरधनी र संस्थाका संस्थापक सञ्चालक, कर्मचारीहरुसँग सम्पर्क गरेर त्यसको तथ्याङक जुटाउने काम भइरहेको छ ।’

सो सहकारीबाट पीडितहरुले सोझै प्रहरी कार्यालय वा सहकारी रजिष्टारको कार्यालयमा आएर प्रमाणसहित उजुरी दर्ता गराउन सक्ने निमित्त रजिष्ट्रार खत्री बताए । ‘हामी उजुरीका आधारमा मुद्धा दर्ताका लागि सिफारिस गर्छौ’ खत्रीले भने ।

उनले कार्यालय बन्द रहेका कारण सो संस्थामा के कति बचतकर्ताको रकम थियो भन्ने यकिन हुन नसकेकाले चाँडै कार्यालय खोलेर आवश्यक प्रकृया अघि बढाइने बताए ।

दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँका अनुसार सो सहकारीले अन्य पालिकामा समेत कारोबार गर्ने अनुमति लिएको कारण यसको दमक नगरपालिकाको नियमन क्षेत्रभन्दा बाहिर रहेको छ । बेलाबेला अनौपचारिक रुपमा नवरंगको विषयमा कुरा आएको हो तर हाम्रो क्षेत्राधिकार भन्दा बाहिरको संस्था भएकाले हामीले कुनै कार्यवाही अगाडि बढाएनौं’ चम्लागाइँले भने ।

सो सहकारीमा सर्वसाधारणको के कति बचत रकम थियो भन्ने सम्म थाह हुन सकेको छैन । सो संस्था आर्थिक वर्ष २०६९/०७० मा डिभिजन सहकारी कार्यालय चन्द्रगढी झापामा दर्ता भएको रेकर्ड छ । यसले इलाका प्रहरी कार्यालय दमकको सय मिटर दुरीमा रहेको एउटा निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

यसअघि विराटनगरको तुलसी बहुमुखी सहकारीको दमक शाखाले, दमकको नारायणी बचत तथा ऋण सहकारी संस्थाले, स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था र त्यसअघि दमकमै गरीबि निवारण नामक सहकारी संस्थाका नाममा बचतकर्ताहरुको करोडौं रुपैयाँ रकम हिनामिना भएको तथ्यहरु बाहिर आइसकेका छन ।

तीमध्ये स्वर्गपुरी सहकारी संस्था र हाल बन्द रहेको नवरंग बचत तथा ऋण सहकारी संस्थाका नाममा वित्तीय ठगी धन्दा गर्ने गिरोह एकापसमा सम्बन्धित रहेको कतिपय जानकारहरुले बताउँदै आएका छन ।

जानकारहरुका अनुसार सो संस्थाका व्यवस्थापक अहिले पनि दमकमा नै घुमफिर गरिरहेको छन् । उनको जिम्मामा रहेको ९० लाख रुपैयाँका विषयमा धेरैपटक सहकारी अभियानका मानिसहरु बसेर छपलफल भएको छ । उपाध्यक्ष र व्यवस्थापकबीच हात हालाहालको अवस्था बनेको कुरा पनि चर्चामा छ । तर पनि नियमनकारी र सरोकारवालाहरुले सक्रियता नदेखाउँदा सयौं बचकर्ताहरु मारमा परेको बताइन्छ ।