काठमाडौं । जघन्य अपराध सहेका पिडीतहरुलाई समेत सरकारले आफ्ना कुराहरु व्यक्त गर्न रोक्दै राज्य संयन्त्रको दुरुपयोग गरिरहेको पाइएको छ ।
गत जेठमा दाइजोका नाममा हत्या गरिएकी धनुषाकी २२ वर्षीया आरती साहाका आफन्तले घटनामा संलग्नहरुलाई कार्वाहीको माग गर्दै विभिन्न निकाय र संवैधानिक आयोगमा जान खोज्दा पनि सरकारले नै सुरक्षाकर्मी लगाएर रोक्ने गरेको हो ।
जिल्ला अदालत धनुषाले आरतीको हत्यामा संलग्नहरुलाई थुनामा राखि अनुसन्धान गर्न आदेश दिए पनि उच्च अदालत जनकपुरको वीरगञ्ज इजसालले आदेश उल्ट्याई संदिग्धहरुलाई साधारण तारेखमा रिहा गरेको थियो ।
संलग्नहरु रिहा भए पछि पिडीत परिवार थप त्रसित बन्दै विभिन्न निकाय धाइरहेका छन् । तर उनीहरुलाई माईतीघर मण्डलामा अनसन बस्नसमेत सुरक्षाकर्मी लगाएर लखेटिएको उनीहरुको गुनासो छ ।
यसैगरी मानवअधिकार दिवसका दिन आज राष्ट्रिय मानव अधिकार आयोगमा आफ्ना कुरा राख्न जाँदासमेत प्रहरी लगाएर गलहत्याइएको उनीहरुले गुनासो गरेका छन् ।
आफूहरुलाई थप पीडा र पिडकलाई उन्मुक्ति दिने गरी फैसला गर्ने न्यायाधीश सर्वोच्च अदालतको न्याधीशमा सिफारिस भएपछि आरतीका परिवारले उनका विरुद्ध संसदीय सुनवाई समितिमा उजुरी दिएका थिए । आरतीको परिवारको तर्फबाट प्रेम साहले उक्त फैसला गर्ने न्यायाधीश सारङ्गा सुवेदी विरुद्ध समितिमा उजुरी दिएका थिए ।
उनको तर्फबाट दर्ता भएकोे उजुरीमा आरतीको हत्या प्रकरणमा जनकपुर उच्च अदालतमा हुँदा न्यायाधीश सुवेदीसहितले प्रमाणको मूल्यांकन नगरी कसुरदार आरतीका पति तथा ससुरालाई साधारण तारेखमा रिहा गरेको आरोप छ ।
सो उजुरी पछि समितिले उनीहरुलाई गुनासो राख्न समय दिँदासमेत सुरक्षाकर्मी लगाएर रोक्ने प्रयास गरिएको थियो । तर पटक पटकको आग्रह पछि सुरक्षाकर्मीको निगरानीसहित उनीहरु समितिमा गुनासो राख्न पुगेका थिए ।
त्यसपछि मात्र सरकारी संयन्त्रले पिडीतहरुलाई थप पिडा दिन राज्य संयन्त्रकै दुरुपयोग गरिरहेको सार्वजनिक भएको हो । मानव अधिकार दिवसकै दिन पिडीतहरुलाई आफ्ना गुनासासमेत राख्न नदिई मानवअधिकारको धज्जी उडाउनु निन्दनीय भएको समिति सदस्यसमेत रहेका नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालको भनाई छ । सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी पिडीतलाई थप पीडा दिने कार्यको उनले भत्सर्नासमेत गरेका छन् ।
आरतीको शव गत जेष्ठ ७ गते शंकास्पद अवस्थामा फेला परेको थियो । घटना अघि पनि आरतीलाई दाइजोको विषयमा पटक पटक यातना दिने गरेकाले उनको हत्या भएको माइती पक्षबाट दावी गरिँदै आएको छ ।