२०८१ पौष २७, शनिवार , ०८:५७:०५ बजे

Sajhamanch
'

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा लेटाङ ६ नं बुधबारे सडकको शिलान्यास

शुक्रवार, मंसिर २२, २०८०

लेटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० लम्बाइको लेटाङ ६ नं बुधबारे सडकको आज शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यालयले लेटाङमा शुक्रबार आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरेका हुन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताए । उनले भने, ‘सडक निर्माण पछि त्यसभेगका कृषि उत्पादन बजारसम्म पुर्याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पुर्याउनका लागि महत्त्वपूर्ण हुन्छ ।’

अब अन्य आयोजनाको छनौट गरेर आवश्यकताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्न गर्ने ग्यारेन्टीसहित योजना छनौट हुने बताए । कार्यक्रममा सहभागी वक्ताहरूले समयमै निमार्णको कार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिए ।

सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँ ७० पैसामा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने जानकारी दिए ।

भौतिक पूर्वाधार विकस मन्त्रालय कोशी प्रदेशका सचिव रमेशकुमार सिंहको सभापतित्वमा भएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै सरोकारवाला निकायको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खबर