२०८१ माघ १४, सोमवार , १२:४७:५६ बजे

Sajhamanch
'

लैंगिक हिंसा विरूद्ध मेचीनगरमा वक्तृत्वकला तथा अभिमुखिकरण

शुक्रवार, मंसिर १५, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्राची कार्की प्रथम, योना गौतम दोस्रो र उसा निरौला तेस्रो भए । सो प्रतियोगितामा श्रेया रिमालले सान्त्वना स्थान हासिल गरिन् ।

मेचीनगर महिला तथा बालबालिका शाखाको आयोजनामा बिहीबार आयोजित प्रतियोगितामा मेचीनगर क्षेत्रका १० वटा सामुदायिक मावि तहका विद्यालयबाट छात्राहरुको सहभागिता थियो । सो प्रतियोगितामा निर्णायकको रुपमा शिक्षासेवी भुवन सुब्बा, सुभद्रा अर्याल र दामोदर ढुङ्गेल रहेका थिए ।

नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत यसअघि नै पहिलो चरणको कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

अभियानको दोस्रो चरणमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्यायनरत छात्राहरुलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता तथा अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको हो । यस कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन ।

मेचीनगर कार्यापालिका सदस्य तथा सामाजिक विकास शाखा संयोजक हृदय राजवंशीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि महिला तथा बालबालिका विकास शाखा अधिकृत जयन्ती खरेलले प्रकाश पारेकी थिइन् । कार्यक्रम सञ्चालन आयुस्मान निरौलाले गरेका थिए ।

त्यस्तै मेचीनगरको सभाहलमा बिहीबार नै भएको अर्को कार्यक्रम लैंगिक हिंसा विरूद्ध अभिमूखीकरण कार्यक्रमको सहजीकरण मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले कार्यक्रममा सहभागी छात्राहरुलाई लैंगिक हिंसा विरूद्ध सचेतना जगाउँदै उनीहरुलाई अभिमुखिकरण गरेका थिए ।