२०८१ फागुन ८, बिहिवार , ०४:१७:२४ बजे

Sajhamanch
'

‘सङ्घीय सरकारसँग सङ्घर्ष गर्छौं’ : मुख्यमन्त्री कार्की

मङ्गलवार, मंसिर १२, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताएका छन् । आज मङ्गलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो धारणा राखेका हुन् ।

संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्ने भन्ने कुराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वय मात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न सङ्घर्ष पनि गर्दछ ।’

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दिगो विकासको लक्ष्य अनुसार काम गर्नुपर्ने पनि सुझाए । ‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्दैछौँ, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, संघले कति र स्थानीय तहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनु पर्छ’ मुख्यमन्त्री कार्कीको भनाई छ । संघ सरकारले पनि साना योजनामा बजेट नछरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री कार्कीले गरेका थिए । संघीय मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताइन् ।

उनले भनिन्, ‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ ।’ विनियोजित बजेटसमेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिजर्ना नहुनु भनेको योजना तथा तयारीको अभावले हो, मन्त्री देवीको जिकिर छ ।

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरुको प्रयोग हुन नसकेको प्रष्ट पारेका थिए ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख नागेश कोइराला, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

सङ्घीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित असल अभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने छ ।