काठमाडौं । वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएको छ ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरस्थित एउटा घरमा इजरायली बम विस्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाएको छ ।
जेनिनका विभिन्न स्थानमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो ‘अपरेसन’का क्रममा पाँच प्यालेस्टाइनीलाई मारेको बताइएको छ ।
यो वर्षको सुरुमा इजरायली बुवा र छोराको हत्यामा शंकास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो ।
प्यालेस्टाइनी रेड क्रिसेन्टका अनुसार नाब्लस सहरमा इजरायली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । अल–बिरेह सहरमा सिगोट बस्तीनजिकै इजरायली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि वेस्ट बैंकमा इजरायलीबाट कम्तीमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।