२०८१ कार्तिक ३०, शुक्रवार , ०४:२३:५१ बजे

Sajhamanch
'

विपिन नेपालको उपचारमा संजिवनी साकोसले दियो ५ लाख ५० हजार रुपैयाँ सहयोग

आइतवार, मंसिर १०, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ९ निवासी विपिन नेपालको परिवारलाई संजिवनी बचत तथा ऋण सहकारी संस्थाले ५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ ।

शनिबार संजिवनी साकोसबाट सञ्चालक र कर्मचारीहरु घाइते नेपालको गरामनीस्थित घरमा नै गएर आमा चन्द्रा र श्रीमती मीना निरौलालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि दुर्घटनाको भएको केही दिनपछि नै अस्पतालमा पुगेर ५० हजार रुपैयाँ उपचार सहयोग गरेको सञ्चालक सदस्य अनिता गौतमले बताइन् । घाइते नेपालको टाउकोमा गहिरो चोट लागेर अहिले पनि बेहोस अवस्थामा ओछ्यान परिरहेका छन् ।

आफ्ना सदस्यहरुको हितमा संजिवनी साकोसले सञ्चालन गरेको पेन्सन बचत योजनामा सहभागी सदस्य विपिन गत चैतको अन्तिम साता मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका थिए । उनी बिर्तामोडकै परिचित विपिन हेलमेट हाउस एण्ड एसेसरिजका सञ्चालक हुन् ।

संस्थाका अध्यक्ष यामकुमार चुडालका अनुसार संजिवनी साकोसले पेन्सन बचत योजनामा सहभागी सबै सदस्यहरुको १० लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ । सोही बीमा वापत घाइते नेपालको उपचार गर्न आधा रकम परिवारजनमा हस्तान्तरण गरिएको उनले बताए ।


दुर्घटनामा घाइते विपिन सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (सलिको)बाट विमित हुन् । नेपाललाई उपचार सहयोग हस्तान्तरण गर्न सलिको बिर्तामोड शाखा प्रबन्धक चन्द्रप्रकाश बाँस्कोटा पनि शनिबार नेपाल निवासमा सहभागी थिए ।

संजिवनी साकोसका अध्यक्ष चुडाल, उपाध्यक्ष दिनेश सुवेदी, सञ्चालक सदस्यहरु अनिता गौतम, तारा कार्की, सिता कार्की, शिवबहादुर दाहालसहित सहकारी संस्थाका कर्मचारीहरु र सलिकोका बिर्तामोड शाखा प्रबन्धक बाँस्कोटाको उपस्थितिमा उक्त उपचार बीमा वापतको रकम हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित खबर