मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सहकारी अभियानले नेपाली जनताको जीवीकोपार्जनका निम्ति महत्वपूर्ण योगदान गरेको बताएका छन् । मुलुकी अर्थतन्त्रको एउटा दर्बिलो खम्बाका रुपमा संविधानमा नै सहकारीलाई स्वीकार गरिएकाले यसको सकारात्मक र रचनात्मक योगदान जनताको अपेक्षा भएको पनि नगरप्रमुख बुढाथोकीको भनाई छ ।
कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा अन्तरगत धुलाबारीमा आयोजित इकाई नं. ३ को शुक्रबार आयोजित साधारणसभामा प्रमुख अतिथि रहेका उनले यस्तो बताएका हुन् ।
मेचीनगरमा देशकै ठूला र गुणस्तरीय सहकारी संस्थाहरु पनि रहनु र यहाँ नै पोलियो लागेर घिस्रँदै हिड्ने सहकारीहरु पनि रहेकाले तिनलाई सक्षम र गुणस्तरीय बनाउनु अभियानको जिम्मेवारी भएको नगरप्रमुख बुढाथोकीको सुझाव छ । सम्भव हुन्छ एकीकरण गरौं र थोरै तर गुणस्तरीय संस्था बनाएर नगरको आर्थिक समृद्धिमा टेवा पुर्याउन उनले आग्रह गरे ।
नेपालमा संघीयताले विकृति ल्यायो भन्ने चर्चातर्फ इंगित गर्दै नगरप्रमुख बुढाथोकीले भने ‘हाम्रो देशमा संघीयताको अभ्यासले बल्ल ६ वर्षको शिशु उमेर पार गर्दैछ, ५०० वर्ष पुरानो देशमा पनि अझै कायम रहेकाले बरु नियन्त्रणमा ध्यान जानुपर्ने छ ।’
सहकारीले ब्यवसायमुखी कृषिमा सदस्यहरुलाई प्रोत्साहित गर्न ढिला भइसकेको सुझाउँदै आफ्नो खेती बाँझो राखेर विदेशी उत्पादनले पेट भर्ने संस्कारको अन्त्य नभएसम्म मुलुकको आर्थिक संकट अझ बढेर जाने नगरप्रमुख बुढाथोकीको भनाई छ ।
संस्था सञ्चालक समितिका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित एकाई नं. ३ को एकाईगत साधारण सभामा उनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको संस्थाका ४१ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । तीमध्ये मेचीनगर नगरपालिका भित्रका धुलाबारी, चारआली, ईटाभट्टा र भृकुटी सेवा केन्द्रहरु, बुद्धशान्तिको बुधबारे सेवा केन्द्र र इलामको फिक्कल र हर्कटे सेवा केन्द्र गरी ७ वटा सेवा केन्द्रको इकाईगत सभा भएको हो ।
संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको सो इकाइगत सभाबाट माइन्युट प्रमाणित सभाका लागि प्रतिनिधि छानिएका छन् । सो इकाइगत सभामा उत्कृष्ट ५ संस्थामा वर्षभन्दा धेरै समयदेखि बचत कारोबार गर्ने ९ जना सदस्यहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान पनि गरियो ।
संस्थाका कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गरेको सो इकाइगत साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक रामकुमार गौतमले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन वाचन गरेका थिए ।
इकाइगत साधारणसभामा मेचीनगर नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले मन्तब्य ब्यक्त गर्दै केही मानिसहरु सहकारीबाट लिएको ऋण तिर्न पर्दैन भनी हिंडेका छन्, तिनलाई सदस्यहरुले नै पहिचान गरी लखेट्नुपर्ने बताए ।
सहकारीमा पैसा जम्मा गर्ने पनि सदस्य नै हुन्छन् र ऋण चलाउने पनि सदस्य नै हुने भएकाले यस्तो विकृत सोच भएका मानिसलाई सदस्यले नै खबरदारी गरेर सहकारी जोगाउनुपर्ने वडाध्यक्ष ओलीको सुझाव छ ।
सो कार्यक्रममा संस्थाले धुलाबारी सेवा केन्द्रका सदस्यहरु योगमाया कोइरालाको पिसाव घरमा पलाएको ट्युमरको शल्यक्रियामा उपचार सहयोग वापत १० हजार रुपैयाँ र मीना चोङबाङको सासुआमाको निधनमा मृत्यु राहत वापत २० हजार रुपैयाँ हस्तान्तरण गरियो ।