दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नीतिगत हिसाबले सञ्चालन नगरिएका सहकारी संस्थाहरु धमाधम धरासयी बन्दै गएको र विधिसम्मत चलेका संस्थाहरु सफल भइरहेको बताएकी छन् ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तरगत आज दमकमा सञ्चालित इकाइगत सभामा मन्तब्य राख्दै उनले सो कुरा बताएकी हुन् ।
आफ्नो मन्तब्यमा उनले संस्थाको नेतृत्वले सदस्य एवम् समुदायका विषयमा सोचेकै कारण आज कर्णाली साकोस ‘ब्राण्ड’ बनिसकेको बताइन् । सञ्चालकहरुले संस्थाबाट कर्जा नलिनुले पनि यसलाई राम्रो बनाउन मद्दत पुगेको उपप्रमुख प्रसाईंको भनाई थियो ।
नगरपालिकाको उपप्रमुख भएपछि एउटा संस्थाको अनुगमनमा जाँदा त्यहाँका व्यवस्थापकले गरेको व्यवहार उधृत गर्दै उनले सो पछि कर्मचारीहरुलाई कढाईका साथ कागज जाँच गर्न लगाएको पनि स्मरण गरिन् । भनिन्, ‘संस्थाको नेतृत्व कसले गर्छ त्यो कुरा गौण हो तर संस्था विधिसम्मत, ऐन, नीति र नियमानुसार चलाइन्छ कि छैन त्यो महत्वपूर्ण हुन्छ ।’
कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको संस्थाका ४१ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । तीमध्ये दमक आसपासका दमक, लखनपुर, जुरोपानी, गौरादह, क्याम्पा र ढुकुरपानीस्थित नमूना सेवा केन्द्र गरी ६ वटा सेवा केन्द्रको इकाईगत सभा भएको हो ।
संस्था सञ्चालक समितिका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभामा उनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष श्रेष्ठले संस्थाको ऐतिहासिक पृष्ठभूमिका बारेमा सभामा जानकारी गराउँदै संस्थाले सदस्यहरुको आर्थिक समृद्धिका लागि मात्र काम नगरी सामाजिक सुरक्षामा पनि ध्यान दिइरहेको प्रष्ट पारेका थिए ।
‘मेरो कर्णाली समृद्धिको आधार, मेरो कर्णाली जन्मदेखि मृत्युसम्म’ भन्ने थीममा आधारित रहेर गत आर्थिक वर्षमा मात्र सदस्य, तिनको परिवार र समुदायका लागि संस्थाले ३ करोड ५५ लाख ५३ हजार रुपैयाँ वितरण गरिएको बताए ।
२०५७ को पौष ४ गते ५३ हजार ७०० रुपैयाँ चुक्ता शेयर पूँजीबाट संस्था दर्ता गरी कारोबार सुरु गरेको कर्णाली साकोसमा हाल ४८ करोड ८० लाख २१ हजार ७०० रुपैयाँ शेयर रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष ५ करोड ६ लाख १७ हजार ६०० रुपैयाँ शेयर पूँजी बृद्धि गर्न संस्था सफल भएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले संस्थाको जगेडा कोषमा पनि १३ करोड ३८ लाख एक हजार ६७१ रुपैयाँ रहेको बताए ।
आर्थिक वर्ष २०७९÷०८० को वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको जम्मा वासलात ४ अर्ब ३६ करोड २१ लाख ७ हजार २०४ भएको पनि सभालाई जानकारी दिएका थिए ।
संस्थाका कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गरेको सो इकाइगत साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक रामकुमार गौतमले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन वाचन गरेका थिए । इकाइगत साधारणसभामा गौरादह नगरपालिकाका पूर्व उपप्रमुख गीता भेट्वालले मन्तब्य ब्यक्त गरेकी थिइन् ।
संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको सो इकाइगत सभाबाट माइन्युट प्रमाणित सभाका लागि ७ जना प्रतिनिधि छानिएका छन् । सो इकाइगत सभामा ६ वटै सेवा केन्द्रबाट १–१ जना उत्कृष्ट बचत कारोबार गर्ने सदस्य र १–१ जना उत्कृष्ट ऋणी गरी १२ जनालाई प्रशंसापत्र प्रदान गरी सम्मान पनि गरिएको थियो ।