भद्रपुर । झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथीभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एक–एक अंक भएको छ ।
खेलको २८औँ मिनेटमा हल्दिबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ३१औँ मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काएका थिए ।
त्यस्तै, खेलको ६२औँ मिनेटमा बिर्तामोडका रोमन भूजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६औँ मिनेटमा हल्दिबारीका कप्तान विकास जवेगूले गोल फर्काएपछि खेल बराबरी भएको थियो ।
आजको खेलको प्लेयर अफ दि म्याच हल्दिबारीका हिरण राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता तीर्थराज ढकालले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितको उद्घाटन पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए ।
कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल र मुख्य प्रायोजक ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दिपक पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच, अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबलमा सहभागी हुने खेलाडीहरुलाई शुभकामनासहित बिर्तामोडबाट विदाइ गरिएको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा गरिएको एक संक्षिप्त कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले खादा लगाएर खेलाडीको विदाइ गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख प्रसाईले प्रतियोगिताको टाइटल जितेर आउन खेलाडीहरुलाई शुभकामना दिएकी थिइन् । नगरपालिकाले खेलाडीहरुलाई सिमित स्रोत साधनमा भए पनि सहयोग तथा प्रोत्साहन गरिरहेको उनको भनाई थियो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले प्रतियोगिता प्रतिष्ठाको विषय भएकोले जितेर आउन खेलाडीहरुलाइ शुभकामना व्यक्त गरे ।
कार्यक्रममा टिम क्याप्टेन विक्की चौधरी र प्रशिक्षक योगेश गुरुङलाई नगरप्रमुख प्रसाई र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जर्सी हस्तान्तरण गरेका थिए ।