काठमाडौं । वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन सामुयल्सलाई म्याच फिक्सिङ गरेको ठहर गर्दै ६ वर्षका लागि सबै खाले क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ।
इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) को इन्टि करप्सन संहिता तोडेको आरोपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले इसिबीको आग्रहमा यसअघि निलम्बन गरेको थियो।
अहिले आइसिसीले उनलाई ६ वर्षका लागि सबै क्रिकेटबाट प्रतिबन्ध लगाएको हो।
युएईको टी-१० लिगका दौरान उनले फिक्सिङसँग सम्बन्धित नियम तोडेका थिए।
सन् २०१९ मा अबुधाबी भएको टी-१० उनी कर्नाटक टस्कर्समा थिए, तर खेलेका थिएनन्।
सन् २०२१ मा उनलाई लगाइएका चार अभियोगमा अहिले आइसिसीले दोषी ठहर गरेको छ। यो प्रतिबन्ध ११ नोभेम्बर २०२३ देखि लागू हुनेछ।
२०१२ र २०१६ को टी-२० विश्वकपमा वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाएका उनले अन्तिम पटक २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। नोभेम्बर २०२० मा उनले सबै ढाँचामा ११,००० भन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएर संन्यासको घोषणा गरेका थिए।