इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएकालाई मुक्त गर्ने सम्झौता चाँडै टुङ्गोमा पुग्ने आशा व्यक्त गरेका छन्।यो विषयमा भएको घटनाक्रमको विकासबारे छलफल गर्न उनले मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका छन्। ‘हामी यस विषयमा प्रगति गर्दैछौँ’, नेतान्याहुले भने, ‘मलाई आशा छ छिटै शुभ समाचार आउनेछ।’ इजरायल–लेबनान सीमा नजिकको भ्रमणका क्रममा उनको यो प्रतिक्रिया सार्वजनिक भएको हो।
इजरायलको मन्त्रिपरिषद्को युद्ध विरामम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै यी विशेष बैठकहरू बन्धकहरूको रिहाइ सम्बन्धी घटनाक्रमको छलफलका बारेमा बोलाइएको उल्लेख गरेको छ। यस सम्झौतालाई सुरक्षा क्याबिनेट र सरकार दुवैमा छलफलमा ल्याई निर्णय गर्नुपर्ने प्रावधान छ।
यसअघि हमासका नेता इस्माइल हनियाहले समूहका अधिकारीहरू इजरायलसँग युद्धविराम सम्झौतामा पुग्न नजिक रहेको र हमासले कतारलाई आफ्नो प्रतिक्रिया पठाएको इजरायलको सरकारी स्वामित्वमा रहेको कान टेलिभिजन समाचारले जनाएको छ। कानका अनुसार सम्झौतामा इजरायली जेलबाट महिला र किशोर प्यालेस्टिनी बन्दीको रिहाइको साटो हमासले बन्दी बनाएका करिब ५० नागरिकको रिहाइ गर्दै जारी लडाइ केही दिनका लागि रोक्ने छ।गत अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको अप्रत्याशित आक्रमणमा सर्वसाधारण, सैनिक, बालबालिका, महिला र विभिन्न राष्ट्र र समुदायका गरी करिब २४० बन्धकलाई गाजामा लगिएको थियो। आक्रमणमा करिब एक हजार २०० मारिएका थिए, जसमा सर्वसाधारण मानिस थिए।सोही दिन इजरायलले शुरु गरेको ठूलो आक्रमणदेखि गाजापट्टीमा कम्तीमा १३ हजार मारिएका छन्।एजेन्सी