विराटनगर । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको कोशी प्रदेश सांसद उमाकान्त गौतमले गुनासो गरेका छन् ।
कोशी प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएका १० जना बिरामीलाई अस्पतालले एक दिन बन्धक बनाएको आरोप लगाएका हुन् ।
अस्पतालले बन्धक बनाएका कारण थप उपचारका लागि काठमाडौं पठाउन एक दिन ढिलो भएको उनले बताए । उपचारका लागि लैजान ढिलो भएकै कारण एक जनाको मृत्यु भएको सांसद गौतमको दाबी छ ।
कात्तिक २६ गते उर्लाबारी नगरपालिका– ७ इटहरा रोडमा दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा आगलागी निभाउने क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइते मध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको कीर्तिपुरस्थित वर्न हस्पिटल मंगलबार बिहान मृत्यु भएको हो ।
कात्तिक २६ राति १० बजे भएको आगलागी परी घाइते भएका मध्ये १८ जनालाई विराटनगर र १० जनालाई झापाको विर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको थियो । भोलिपल्ट गम्भीर प्रकृतिका २४ घाइतेलाई काठमाडौं पठाउन नेपाली सेनाको हेलिकप्टर मगाइएको थियो ।
बी एण्ड सी अस्पतालले रेफर नदिएपछि विराटनगरबाट १४ जना घाइतेलाई मात्रै काठमाडौंको वर्न अस्पताल पठाइएको थियो । बी एण्ड सीले डिस्चार्ज नदिएका विरामीलाई एकदिन पछि मुख्यमन्त्री केदार कार्कीले भद्रपुर हुँदै वर्नअस्पताल पठाएका थिए । अस्पतालले बन्धक बनाएका घाइतेलाई मुख्यमन्त्री पुगेपछि मात्रै थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए ।
अस्पतालले घाइतेलाई बन्धक बनाएर थप उपचारका लागि समयमा नै पठाउन नदिएको उनको दाबी छ । ‘जीवनमरणको लडाईँमा रहेका बिरामीलाई बन्धक बनाएर सरकारलाई चुनौति दिने, सरकारको अनुमतिमा सञ्चालन भएका अस्पताल र अस्पताल व्यवस्थापन प्रति खेद प्रकट गर्छु’ उनले भने, ‘जसको कारणले गए राति तपन पण्डितको देहान्त भयो, एक दिन ढिलाइ गर्दा त्यो घट्ना (मृत्यु) घटेको छ ।’
सरकारले उपचार खर्च व्योहोर्छु भन्दा पनि अस्पतालले डिस्चार्ज नदिएको उनको भनाइ छ । ‘राज्य यति कमजोर हुनुहुँदैन, राज्यको अनुमतिमा सञ्चालित अस्पताल जसलाई नेपाल सरकारले सम्पूर्ण खर्चको जिम्मेवारी लिन्छु भन्दा भन्दै पनि एक दिन बिरामीलाई बन्धक बनाए’ उनले भने, ‘राज्य कडा रुपमा प्रस्तुत हुनुपर्छ ।’