२०८१ मंसिर १२, बुधवार , ०१:३२:५० बजे

Sajhamanch
'

अर्जुनधारामा नेपाली सेना र स्थानीयबासीको जग्गा स्वामित्व विवाद समाधानको पहल गर्ने सभामुखको प्रतिवद्धता

मङ्गलवार, मंसिर ५, २०८०

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको ९३५ बिगाहा ८ कठ्ठा जग्गामा स्थानीयबासी र नेपाली सेनाबीचको जग्गा स्वामित्व विवाद अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज बिहान स्थलगत भ्रमण गरी स्थानीयबासीसँग छलफल गर्दै सभामुख घिमिरेले स्वामित्व विवाद टुंगोमा पुग्नुपर्ने बताएका हुन् । “यहाँको जग्गा विवाद बारे म जानकार नै छु” सभामुख घिमिरेले भने, “जुनसुकै विकल्पमा पनि अब विवाद समाधान हुनुपर्छ ।”

अर्जुनधारा १ मा रहेको ९३५ बिगाहा ८ कठ्ठा जमिन नेपाली सेनाले आफ्नो स्वामित्व दाबी गर्दै आएको छ । मन्त्रिपरिषदबाट नै स्वामित्व सेनालाई दिएको भन्दै त्यहाँ रहेका अव्यवस्थित तथा सुकुम्बासीलाई जग्गा खाली गर्न भनिएको स्थानीयको भनाई छ ।

सभामुख घिमिरेले इतिहास र तथ्यका आधारमा सौहार्दपूर्ण समझदारी गर्दै निष्कर्षमा पुग्नुपर्ने स्थानीयबासीलाई आश्वासन दिए । सो अवसरमा विभिन्न राजनीतिक दलका नेता र स्थानीय बासिन्दाहरुले पटकपटक विवाद अन्त्यका लागि पहल भए पनि समाधान हुन नसकेको बताएका थिए ।

अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, एमालेका रामप्रसाद निरौला, माओवादी केन्द्रका विजय एक्तेन, राप्रपाका हेम चापागाईं, स्थानीय सामुदायिक वनका अध्यक्ष चन्द्र प्रसाईंलगायतले जनताको उठिबास लगाएर सेनालाई जग्गा उपयोग गर्न दिन नसकिने धारणा राखेका थिए ।

सम्बन्धित खबर