अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना सम्बन्धी पुस्तकका तयारकर्ता केशवराज ढुङ्गेलले सभामुखको हातबाट नगरप्रमुखलाई प्रदान गरेका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेल अर्जुनधाराबासी नै भएकोले नगरबासीको हैसियतले सामाजिक उत्तरदायित्व बहन गर्दै आफूले योजना तयार पारेर नगरलाई हस्तान्तरण गरेको बताएका छन् ।
सोमबार नगरपालिकाको सभाहलमा भएको एक विशेष कार्यक्रममा सभामुख देवराज घिमिरे र योजनाका सहजकर्ता ढुङ्गेलले उक्त पुस्तक नगरप्रमुख बलदेव सिंह गोम्देनलाई हस्तान्तरण गरेका हुन् ।
अर्जुनधारा नगरपालिकाले प्रत्येक वर्ष आवधिक योजनाका लागि बजेट विनियोजन गर्दै आएको भए पनि काम भएको छैन । तर निज ढुङ्गेलले नगरपालिकाको उक्त आवधिक योजना तयार गरी निःशुल्क प्रदान गरेको जनाए ।
उक्त योजनाका लागि नगरपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अब ढुङ्गेलले आवधिक योजना तयार गरी निःशुल्क प्रदान गरे पछि उक्त रकम अन्य विकास निर्माण काममा खर्च गर्नसमेत ढुङ्गेलको आग्रह छ ।
सो आवधिक योजना पुस्तिकामा अर्जुनधारा नगरपालिकाको परिकल्पना, लक्ष्य, उद्देश्यहरु, रणनीति र कार्यनीतिको निर्माण, पालिकाका सबल पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरु, अवसरहरु र चुनौतीहरुको विश्लेषण गरिएको जनाइएको छ ।
सहजकर्ता ढुङ्गेलले अर्जुनधाराको भौतिक पूर्वाधारको विकासलाई व्यवस्थित गर्न, रोजगारीका अवसरहरु सृजना गर्न र कृषि पेशालाई सम्मानित पेशाको रुपमा रुपान्तरण गर्न बृहत, दीर्घकालीन र व्यवस्थित योजना तर्जुमाको खाँचो महशुस गरेर आवधिक नगर योजना आफूले तयार पारिदिएको बताए ।
सो अवसरमा नगरप्रमुख गोम्देनले नगरले आवधिक योजनाका लागि विनियोजन गरेको बजेटबाट शनिश्चरे बजारमा अत्याधुनिक सुविधा समपन्न शौचालय निर्माण गरिएको पनि बताए ।