२०८१ कार्तिक ३०, शुक्रवार , ०४:२०:३७ बजे

Sajhamanch
'

एनएमसीको ३१औं वार्षिक साधारणसभा : बिर्ताअर्जुन एकाईको आज सम्पन्न

सोमवार, मंसिर ४, २०८०

झापा । मुलुकको दोस्रो ठूलो सहकारी संस्थाका रुपमा पहिचान बनाएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा जारी छ । मंसीर २ गतेदेखि सुरु भएको इकाइगत साधारणसभाको तेस्रो दिन आज बुधबार बिर्ताअर्जुन क्षेत्रका १० वटा सेवा केन्द्रमा उपइकाइगत सभा सम्पन्न गरिएको हो ।

सोही क्रममा बिर्तामोड सेवा केन्द्रको उपइकाइगत साधारण सभा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वित्तीय कारोबार गर्ने एनएमसीका ५८ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थामा गत असार मसान्तमा एक अर्ब ४० करोड ५ लाख १८ हजार ६०० रुपैयाँ शेयर पुँजी रुपैयाँ रहेको जानकारी दिए ।

यस्तै संस्थागत पुँजी ८१ करोड २३ लाख २६ हजार २० रुपैयाँ, ९ अर्ब ३८ करोड ३० लाख २९ हजार ६८५ रुपैयाँ निक्षेप मौज्दात गरी सदस्यहरु माझ १० अर्ब ६३ करोड ३८ लाख २९ हजार ३१८ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष सिवाकोटीले प्रतिवेदन वाचन गर्दै सुनाए । हाल संस्थाका ५ वटै व्यवसायमा गरी कूल एक हजार १४४ जना कर्मचारी कार्यरत रहेको जनाए ।

अध्यक्ष शिवाकोटीले प्रतिवेदन प्रस्तुत गर्दै भने, ‘आर्थिक वर्ष २०७९/०८० को असार मसान्तमा ४४ करोड ७० लाख २८ हजार ८६७ रुपैयाँ बाह्य कर्जा रहेको छ भने समीक्षा वर्षमा भाखा नाघेको कर्जाको प्रतिशत ३ दशमलव ५८ प्रतिशतमा सिमित गर्न सफल भएको छ । समीक्षा वर्षमा संस्थाको खुद नाफा २३ करोड २५ लाख ८७ हजार ३३९ रुपैयाँ रहेको र उक्त मुनाफामध्ये शेयर लाभांश कोषमा जम्मा हुन आएको रकम ९ करोड ४० लाख ४५ हजार ४ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा आएको ४ करोड ५० लाख ८३ हजार ८९४ रुपैयाँ नियमानुसार सदस्यहरुमाझ वितरण गरिनेछ ।’

उक्त साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले गत आर्थिक वर्षमा संस्थाको सञ्चालक समिति बैठकले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, वित्तीय कारोबारहरु गर्नका लागि निर्माण गरिएका नीतिगत व्यवस्थाको परिपालनाजस्ता विषयहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

यस्तै संस्थाको भद्रपुर केचना क्षेत्रका प्रमुख हरिमाया ओझाले वार्षिक बजेट तथा कार्यक्रमसहित लेखा परीक्षण प्रतिवेदन वाचन गरेकी थिइन् । उक्त एकाईगत साधारणसभामा दर्जनौं सेयर सदस्यहरुले प्रतिवेदनमा उल्लेखित विषय एवम् समग्र संस्थाको कारोबारहरुको सम्बन्धमा जिज्ञासा, टिप्पणी र सुझाव प्रस्तुत गरेका थिए ।

हलबाट छानिएको बुँदा टिपोट समितिका संयोजक गोपाल काफ्लेले सेयर सदस्यहरुबाट लिखितरुपमा प्रस्तुत गरिएका जिज्ञासा, टिप्पणी र सुझावहरु हलसमक्ष प्रस्तुत गरेका थिए ।

उपइकाइगत साधारण सभाका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रसाईंले मन्तब्य राख्दै अहिले अनेकन चुनौतिका बीचबाट नेपालको सहकारी अभियान अगाडि बढिरहेको बताइन् । कोही कोही मानिस बैंक, सहकारी र लघुवित्तबाट लिएर ऋण नतिर्न उर्दि गर्दै हिंड्ने गरेको बताउँदै नगरप्रमुख प्रसाईंले ‘राज्यको कानून नमान्ने नागरिकले दुख पाउँछन्, आफूले लिएको कर्जा तिर्नुपर्दैन भन्ने कुरा एकादेशको कथा हो, जुन सदैव कथामात्रै भइरहने’ बताइन् ।

सो समारोहमा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालले बिना धितो कर्जा लगानी नगर्ने संस्थाको नीतिको सराहना गरे । संस्थाको प्रतिवेदन सर्सती पढ्दा र सुन्दा टिप्पणी गर्ने ठाउँ नपाएको प्रष्ट पार्दै अधिकृत दाहालले आफूले सहभागिता जनाएका सहकारीको साधारणसभा मध्ये एनएमसीका सदस्यहरुको सहभागिता मननयोग्य रहेको पनि बताए ।

लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनलाई उत्कृष्टको संज्ञा दिँदै अधिकृत दाहालले भने, ‘यति प्रष्ट, बुँदागत टिप्पणी र सुझावहरु अरु संस्थाका प्रतिवेदनमा अटाएको पाएको छैन, एनएमसीको लेखा समिति उत्कृष्ट छ ।’

संस्थाको बिर्तामोड सेवा केन्द्रगत उपसमितिका संयोजक पर्शुराम मगरको अध्यक्षतामा सेवा केन्द्र प्रमुख धर्मेन्द्र सुवेदीले सञ्चालन गरेको समारोहमा आमन्त्रित अतिथि र सहभागीहरुलाई सेवा केन्द्रगत उपसमितिका सदस्य सविता खनालले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो उपएकाइगत साधारणसभाबाट अन्तिम माइन्युट प्रमाणीकरण सभामा प्रतिनिधित्व गर्न ३ जना सदस्यहरु र उपएकाइगत साधारणसभाको माइन्युट प्रमाणित गर्न १६ जना सदस्यहरु मनोनयन गरेको थियो ।

आगामी मंसीर १६ गते बिर्तामोडमा अन्तिम आइन्यूट प्रमाणिकरण सभा गरिने जनाइएको छ । सहकारीको नियमानुसार इकाइगत साधारणसभाबाट प्रतिनिधि छनौट हुने र छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणीकरण गरिने ब्यवस्था छ ।

सम्बन्धित खबर