
झापा । झापा निर्वाचन क्षेत्र नं. २ मा पर्ने बिर्तामोड र कनकाई नगरपालिका भित्रका करिव १५० जना ज्येष्ठ नागरिकहरुलाई आज सम्मानसहित बुढेसकालको सहारा लौरो वितरण गरिएको छ ।
सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेले ढाका टोपी, मजेत्रो र लौरो प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै सभामुख घिमिरेले बुढेसकालको असली सहारा लौरो भएकोले जनप्रतिनिधिहरु पनि ज्येष्ठ नागरिकको सहारा बन्न सकिन्छ भनेर लौरो प्रदान गरेको बताए ।
राजनीतिक दलको नेतृत्वकर्ता वा जनप्रतिनिधिहरुबाट कुनै गल्ती भए यही लौरोले खबरदारी गर्न ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेको आग्रह थियो ।
सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएको भन्दै उनीहरुको सम्मान जरुरी रहेको पनि बताए ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई यातायात खर्चसमेत उपलब्ध गराइएको थियो । सभामुख घिमिरेको सचिवालयको समन्वयमा अर्जुनधारा नगरपालिका र बुद्धशान्तिमा गाउँपालिकामा समेत लौरो वितरण गर्ने कार्यक्रम छ ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्षसहित पालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय विनोदकुमार न्यौपाने लगायतको सहभागिता थियो ।
बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बाँस्तोलाले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई नगर उपप्रमुख संग्रौलाले शाब्दिक स्वागत गरेका थिए ।
हेरौं भिडियो पनि ….
https://www.facebook.com/SajhaManchJhapa/videos/257275677346774/