झापा । तिहारका इनदिन झापामा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । आज बिहान कचनकवलमा भएको आगलागीबाट दुईवटा घर जलेर नष्ट भएका छन् । हिजो पनि झापाको बुद्धशान्तिमा धानको कुन्युँ र पराल तथा झापा गाउँपालिकामा एउटा घरमा आगलागी भएको थियो ।
आज बिहान साढे ८ बजे कचनकवल ३ का मनिर मिया र चैतु मियाको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिएका छन् ।
आगलागीबाट २ लाख ४० हजार नगद, एउटा मोटरसाइकल, २ तोला सुन, चाँदी, खाद्यान्न, लत्ताकपडा लगायत जलेर नष्ट भएको अध्यक्ष राजवंशीले बताए ।
स्थानीयवासी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भई उक्त आगलागी भएको जनाइएको छ ।
यस्तै हिजो दिउँसो २ः३० बजे झापा गाउँपालिका वडा नं २ सडकवाडीमा राम हेमरमको एकतले कच्चीघरमा बिजुली सर्ट भई आगलागी हुँदा लताकपडा, अन्नपात, काठ र अन्य सरसामान गरी ३ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।
त्यस्तै हिजो बिहीबार दिउँसो १ः१० बजेको समयमा बुद्धशान्ति वडा नं. ३ गैरीगाउँ सुब्बा टोलमा मनबहादुर आङदम्बेको घरनजिकै खेतमा राखिएको परालको कुन्यु र धानको कुन्युमा आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।