झापा । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले नेपालमा सहकारी संस्थाप्रति विश्वासको संकट पैदा गरी अनर्गल प्रचार गरिएका कारण पछिल्लो समय यो व्यवसायमा संकट उत्पन्न भएको बताएका छन् ।
सहकारी संस्थाको सुशासन, व्यवस्थापन र प्रवद्र्धन सम्बन्धी आज झापाली सहकारीकर्मीहरु माझ आयोजित अन्तरक्रिया कार्यक्रममा विशेष प्रस्तुति दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मान्यता विपरित खुद्रा पसल झै नेपालमा सहकारी खोल्ने प्रवृत्तिका कारण आज यो दिन आएको उनको बुझाई छ ।
अन्तरक्रिया कार्यक्रमका मुख्य प्रस्तोता अध्यक्ष दाहालले सहकारीका सदस्यहरुमा सहकारी शिक्षाको कमी हुनु, नियामक निकायको फितलो नियमन र पछिल्लो समयमा तरलताको अभावजस्ता कारणहरुले सहकारी संस्थाहरु समस्याग्रस्त बन्दै गएको धारणा राखे ।
सहकारी विभागले १ प्रतिशत, प्रदेश सरकारहरुले १९ प्रतिशत र पालिकाहरुले ८० प्रतिशत सहकारी संस्थाहरुको नियमन अधिकार राख्ने उनले सुनाए । तर ८० प्रतिशत संख्या पालिकाको नियमन क्षेत्रमा परे तापनि एकाध बाहेकका पालिकामा सहकारी बुझ्ने कर्मचारी नै नरहेकोले प्रभावकारी काम हुन नसकेकै कारण समस्याहरु उत्पन्न भएका दाहालले बताए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको प्राविधिक सहयोगमा राष्ट्रिय सहकारी बैंक लिमिटेड र झापा जिल्ला सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रधान कार्यालय चारपानेमा आज उक्त अन्तरक्रिया सम्पन्न भएको हो ।
झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा राष्ट्रिय सहकारी बैंक लिमिटेड बिर्तामोड शाखाका प्रमुख विवेक डाँगीले अन्तरक्रिया कार्यक्रमको सञ्चालन गरेका थिए । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी प्रमुख तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक महेन्द्रकुमार गिरीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै शाब्दिक स्वागत गरेका थिए ।
सो अन्तरक्रियामा झापाका सहकारी संस्थाहरुको समग्र अवस्थाका बारेमा झापा जिल्ला सहकारी संघ लिमिटेडका सचिव भवानीप्रसाद दंगालले प्रस्तुति दिएका थिए । सचिव दंगालले राज्यकै गैर जिम्मेवारीका कारण सहकारी संस्थाहरुमा समस्या सिर्जना भएको जिकिर पनि गरे । सहकारी ऐन नियमावलीहरुमा उल्लेखित प्रावधानहरु कार्यान्वयनमा नल्याइनु राज्यको कमजोरी हो, यसैले समस्याहरु सपर्जना गरेका हुन् ।
झापामा नेपालकै ठूला र गुणस्तरीय सहकारी संस्थाहरु सञ्चालनमा रहेको बताउँदै जिल्ला संघका सचिव दंगालले फेरि झापामा नै सहकारीको ऋण तिर्न पर्दैन भन्ने जस्ता अफवाह फैलाउने समूह पनि क्रियाशील रहेको जानकारी दिए । विगतका दिनमा केही सहकारी संस्थाहरु माथि धाक धम्की दिने सो समूह सहकारीका सदस्यहरुलाई भड्काउने क्रियाकलाप गरिरहेको जनाउँदै सचिव दंगालले झापामा २८ वटाजति प्रारम्भिक संस्थाहरु समस्यामा रहेको बताए ।
सो कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य, राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेफ्स्कोनका पूर्व अध्यक्ष डिबी बस्नेतले समितिले समस्यामा परेका सहकारी मै रहेर सदस्य सेवा गर्नुपर्ने आफूहरुको जिम्मेवारी रहेको सुनाए ।
काठमाडौंका केही सहकारीका सञ्चालकको प्रवृत्ति सुनाउँदै सहकारी अभियन्ता बस्नेतले भने मानिस माथि यति बर्बर अमानवीय व्यवहार अन्य व्यवसायमा नदेखेको रहस्य पनि खोले । अभियानको संरक्षण गर्नुपर्ने नेतृत्वले नै प्रहरी बोलाएर अर्को अभियानकर्मीलाई पक्राउ गराउनु परेको तीतो यथार्थ संगालेको उनको भनाई छ ।
सो अन्तरक्रिया कार्यक्रममा नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारी, एनएमसीका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, मेची बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, नयाँ मिलन साकोसका अध्यक्ष सुष्मा पौडेल, जिल्ला संघका सहसचिव कृष्णप्रसाद मिश्रलगायतले सहकारी समस्यामा पर्नुका कारणहरु बारे आफ्ना धारणा राखेका थिए ।