२०८१ मंसिर १२, बुधवार , ०२:०९:५४ बजे

Sajhamanch
'

बुट्टाबारी–प्याकुरेल चोक पक्की सडक निर्माणमा ६ प्रतिशत प्रगति

बुधवार, कार्तिक २२, २०८०

बितामोड । झापाको बिर्तामोड नगरपालिकामा निर्माणाधिन बुट्टाबारी–प्याकुरेलचोक सडकको स्तरोन्नतिको काम तीब्र गतिमा अघि बढेको पाइएको छ ।

बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजना अन्तरगत नमूना सडक निर्माणलाई तीब्रता दिइएको हो। बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेसहितको टोलीले सोमबार सडकको निर्माण प्रगति अनुगमन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार सडक निर्माणको काम हालसम्म ६ प्रतिशत पूरा भइसकेको छ । शिलान्यास भएपछि वर्खायाम बाहेक उक्त परिमाणमा काम भएको हो । अहिले सो सडक क्षेत्रमा ड्रेन तथा कल्भर्ट निर्माणको काम भइरहेको छ ।

न्यौपानेले सडक क्षेत्रमा सक्रिय ढंगबाटै काम भइरहेको आफूहरुले अनुगमनका क्रममा पाएको बताए । वडा नं. ६, ७ र ८ मा पर्ने सडक ६ दशमलव २ किलोमिटरको हुनेछ । ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँ (भ्याट र पीएस समेतं)को लागतमा ठेक्का सम्झौता भएको सडक २०८१ मंसिर १६ मा सम्पन्न गर्नुपर्नेछ ।

विश्व बैंकको लगानीमा ग्लोवल टेण्डर मार्फत ठेक्का पाएको आरपी–साप–समता जेभीले कामलाई धमाधम अघि बढाएको जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको सो कालोपत्रे सडकमा दुवैपट्टि सडक बत्ती, गार्डेन र फुटपाथ रहने छ । सडक खण्डमा ६२९ वडा सडक बत्ती राखिनेछ भने दायाँ बायाँ १ हजार ३५० वटा बिरुवा समेत रोपिने छ । सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन् ।

नगर उपप्रमुख संग्रौलाले सडक निर्माणको काम समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता दर्शाउँदै निर्माण व्यवसायीलाई कामलाई थप तीब्र बनाउन आग्रह गरेका थिए । सडक निर्माणले सो क्षेत्रको जीवनलाई माथि उठाउन सहयोग गर्ने उनको भनाइ छ ।

स्थानीयबासीले सडक निर्माण सुरु भएपछि खुशी व्यक्त गरेका छन् । उनीहरुले सडक निर्माणको क्रममा हुने संरचनागत अवरोधहरु समेत हटाएर सहयोग गरिरहेको निर्माण पक्षको भनाई छ । उक्त सडकको शिलान्यास गत जेठ २ गते नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईले गरेकी हुन् ।

सम्बन्धित खबर