२०८१ पौष २२, सोमवार , ०७:५८:५० बजे

Sajhamanch
'

हात्ती प्रभावित बिर्तामोड ७ का बासिन्दालाई टर्चलाइट र ट्युववेल हस्तान्तरण

बुधवार, कार्तिक २२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण गरिएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारलाई १६ थान ट्यूववेल र हात्ती प्रभावित क्षेत्रका ११ वटा टोल विकास संस्था र सशस्त्र प्रहरी वेसक्याम्प गोलधापले प्रयोग गर्ने गरी १५५ थान टर्चलाईट वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको माग बमोजिम सभामुख देवराज घिमिरेको पहलमा वडा नम्बर ६ बुट्टाबारी देउनिया खोलाको पूलदेखि दक्षिण वडानम्बर ७ हुँदै वडानम्बर ८ देउनिया खोला पूल दक्षिण किसनभिट्टासम्मको करिव १३ किमी क्षेत्रमा सोलार फेन्सिङ्ग गरिने योजना रहेको जानकारी दिइन् । उनले योजनाको काम तिहार लगत्तै सुरु गरिने तयारी रहेको पनि बताइन् ।

नगरप्रमुख प्रसाईले हात्ती नियन्त्रण गर्न सोलार फेन्सिङ्गका लागि आवश्यक बजेटको माग गर्दै नगरपालिकाको तर्फबाट २०७९ चैत २६ गते राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पत्राचार गरेको पनि स्मरण गराइन् ।

कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष कृष्ण खरेलले वडा नम्बर ७ मा हात्ती नआएको दिन नभएको भन्दै हात्ती धपाउन वितरण गरिएको टर्च लाइटले केही हदसम्म सहयोग मिल्ने विश्वास व्यक्त गरे । आफ्नो वडामा ट्यूववेल पनि नभएका घरहरु धेरै रहेकोले २० वटा ट्यूववेल बाँड्ने योजना अनुसार १६ वटा वितरण गरिएको पनि सुनाए ।

वडा कार्यालयले नगरपालिकाको सहयोगमा टर्च लाईट वितरण गरेको हो। बिर्तामोड नगरपालिकाका न्यायिक समिति सदस्य खडानन्द निरौलाले स्वागत गरेको कार्यक्रमको सन्चालन युवराज निरौलाले गरेका थिए ।

सम्बन्धित खबर