
इलाम । कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा १० जिल्लाका सय भन्दा बढी खेलाडी सहभागी हुने आयोजक प्रदेश बुद्धिचाल संघले सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।
विभिन्न ३२ विधामा प्रतियोगिता सञ्चालन गरिने संघका जिल्ला अध्यक्ष प्रकाश परियारले बताए। उनका अनुसार विभिन्न विधाका लागि जम्मा दुई लाख रुपैयाँ नगद पुरस्कार खर्च हुनेछ।
विद्यार्थी, महिला, अपांगता भएका, तराई र पहाडलगायत विभिन्न उमेर समूहसहित ३२ विधा खेलका लागि तय गरिएको उनले जनाए।
‘एउटै प्रतियोगितामा पहिलोदेखि १० औं सम्म गरी धेरै जना पुरस्कृत हुनेछन्,’ उनले भने, ‘प्रतियोगिताका कारण पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने आशा छ।’
आयोजकका अनुसार बाहिरबाट आउने खेलाडीलाई बासको व्यवस्था गरिएको छ। निकै समस्यामा परेको अवस्थाका केही खेलाडीलाई भने खानाको समेत प्रबन्ध गर्नेबारे छलफल भइरहेको छ।
खेल विभिन्न सात चरणमा हुनेछन्।
‘एक खेलाडीले जिते पनि हारे पनि सातै चरण खेल्न पाउँछ,’ उनले भने, ‘यति खेलिसकेपछि विजेताको लाइन छुट्टिँदै जान्छ र निर्णय हुन्छ।’
प्रतियोगिताको स्थानीय व्यवस्थापन संघको इलाम जिल्ला समितिले गरेको छ।