बिर्तामोड। एबिसी नेपालका केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझैपनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् ।
एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा आज सम्पन्न अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि खुलेर बाहिर आउन नसकेको बताउँदै त्यस्ता समस्यालाई पनि उजागर गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्– ‘समस्या छ, तर बाहिर आउन/ल्याउन सक्दैनन् र यो सजिलो पनि छैन । तैपनि त्यस्ता हिंंसालाई पनि सहज रुपमा बाहिर ल्याउन सक्ने वातावरण बनाउनु पर्छ ।’
संस्थाले सञ्चालन गर्दै आएका गतिविधि र भावी योजनाबारे जानकारी दिंदै अध्यक्ष कार्कीले संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाइरहेको बताइन् । जिल्ला शाखालाई सीमा क्षेत्र, कारागार लगायतका विभिन्न चारवटा क्षेत्रमा अल्पकालीन काम गर्न सकिने बताउँदै अल्पकालीन कार्यक्रमको प्रस्ताव ल्याउन उनले सुझाएकी छन् ।
सामाजिक सेवामा इतिहास बनाएको संस्थामा जोडिन पाउँदा पनि गर्व गर्नुपर्नेमा जोड दिंदै एबिसीका महासचिव चन्द्रा विष्टले काम गर्न आवश्यक बजेटबारे स्थानीय सहकारसँग पनि समन्वय गर्न सकिने विकल्प औल्याइन् । संस्थालाई दीर्घकालीन व्यवस्थापनका लागि कोष बनाउने योजना अघि बढेको उनको भनाई छ ।
कार्यक्रममा संस्थाका जिल्ला अध्यक्ष कञ्चना ढकाल सिटौलाले काम गर्ने सिलसिलामा संस्थाले जिल्लामा भोग्नु परेको समस्याबारे अवगत गराएकी थिइन् ।
संस्था स्थापना भएदेखि हालसम्म भए गरेका गतिविधि समेटिएको प्रतिवेदन एबिसी झापाका सहसचिव उमा शिवाकोटीले प्रस्तुत गरिन । उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देविका निरौला बस्नेतले गरेकी थिइन् ।
केन्द्रीय टोलीले आजै संस्थाका झापा शाखाको अनुगमन गर्नुका साथै काँकरभिट्टा सिमानाका र भद्रपुर नाकामा मानव बेचविखन तथा ओसारपसार र निगरानीबारे समेत जानकारी लिनुका साथै अवलोकन गरेको छ ।